Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मनमोहनमा पुस्तक जलेको प्रकरण

छानबिन समितिको निष्कर्ष आयो, प्रतिवेदन हरायो

उद्‌घोष संवाददाता
३ वैशाख २०८३, बिहिवार

विराटनगर । १५ दिनभित्र प्रतिवेदन तयार पार्ने भन्दै मनमोहन प्राविधिक विश्वविद्यालयमा पुस्तक जलेको घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले एक महिना बित्दा पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

मोरङको बुढिगंगास्थित विश्वविद्यालयमा फागुन अन्तिममा  राष्ट्रपति सी जिन सिङको  पुस्तक जलेको भिडियो बाहिरिएपछि घटनाले गम्भीर रुप लिएको थियो ।

चिनियाँ पक्षले गम्भीर चासो दिएपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा चैत ४ मा छानविन समिति गठन गरेको थियो । 

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो ।

समिति गठन भएको महिना दिन पूरा भएको छ । यसबीचमा समितिले ‘मनमोहन प्राविधिक विश्वविद्यालयमा नियतवश पुस्तक नजलाइएको बरु सरसफाइका क्रममा धमिरा र पानीले नष्ट गरिसकेका धेरै सामान जलाइएको’ निष्कर्ष निकालिसकेको छ । सरसफाइ गर्ने क्रममै चिनिया राष्ट्रपतिको पुस्तक पनि परेको देखिएको सरकारी छानविन टोलीको ठहर छ । 

यद्यपि समिति गठन भएको महिना दिन पूरा हुँदा पनि प्रतिवेदन बुझाउने मिति भने पर धकेलिएको धकेलियै छ ।

घटनाको अनुसन्धान गर्न गठित पाँच सदस्यीय छानबिन समितिका एक सदस्यका अनुसार उक्त  घटनामा जानाजानी पुस्तकमा  आगजनी गरिएको पुष्टि हुने ठोस आधार देखिएको छैन ।

सरसफाइका क्रममा भएको सामान्य मानवीय त्रुटीले मुलुकको उत्तरी छिमेकलाई तरंगित पार्ने गरी भएको घटनाको छानबिन प्रतिवेदन समयमै सार्वजनिक नहुँदा त्यसले थप शंका बढाउने जोखिम झनै बढ्ने सम्भावना हुने प्राध्यापकहरू बताउँछन् ।

‘हाम्रो विश्वविद्यालयमा सरसफाइका क्रममा पुस्तक जलेको हो, अहिले पनि धेरै प्रति उक्त पुस्तक विश्विद्यालय परिसरमा छन्,’ विश्वविद्यालयका एक प्राध्यापकले भने ‘तर, छानबिन समितिले छिटो प्रतिवेदन सार्वजनिक गरिदिए यो केसले एउटा किनारा पाउने थियो ।’

घटनाले नेपाल–चीन कूटनीतिक सम्बन्धमै तरंग उत्पन्न गराएपछि संघीय सरकार सक्रिय बनेपछि समिति गठन भएको थियो ।

प्रयोगशाला निर्माणका लागि स्थान खाली गर्ने क्रममा स्टोरमा थन्किएका सामग्री व्यवस्थापन गर्ने क्रममा धमिरा लागेको, पानीले भिजेर बिग्रिएको तथा प्रयोगयोग्य नरहेका पुस्तकहरू नष्ट गरिएको थियो । सोही क्रममा ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक पनि जलेको दृश्य सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रतिवेदनमाथि समितिले अन्तिम चरणको काम गरिरहेको जानकारी दिए । ‘समितिले अहिले पनि प्रतिवेदनमाथि काम गरिरहेको छ,’ उनले बुधबार भने ‘सायद भोलि प्रतिवेदन मलाई बुझाउला कि ।’

प्रजिअ कट्टेलले यसअघि नै प्रारम्भिक बुझाइमा नियतवश गरिएको ठोस आधार नदेखिएको स्वीकार गर्दै भनेका थिए ‘अहिलेसम्मको बुझाइ अनुसार नियतवश जस्तो देखिदैन, तर विस्तृत अध्ययनपछि मात्रै निष्कर्ष निकालिन्छ ।’

View : 168

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved