कर्मचारीहरूका चार संगठनको निष्कर्ष
विराटनगर, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गत सोमबार मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव उद्घाटनका क्रममा दिएको अभिव्यक्तिले निजामती कर्मचारीका चार वटा सङ्गठनले विरोध जनाएका छन् । उनीहरूले शुक्रबार संयुक्त विज्ञप्तिमार्फत मुख्यमन्त्रीको अभिव्यक्तिमै आपत्ति जनाएका हुन् ।
मुख्यमन्त्री कार्कीले कक्षा कोठाको पहिलो बेन्चमा बस्ने विद्यार्थी जान्ने भएर निस्किने, खरिदारमा सीमित भएर भुँडी मात्रै भर्ने बताएका थिए । उनले कक्षा कोठामा लास्ट बेन्चमा बस्ने विद्यार्थी चैं आफूजस्तो चलाख भएर मुख्यमन्त्री बन्ने निष्कर्ष सुनाएका थिए ।
‘म पनि क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो, फस्टमा बस्नेले त केवल लेख्न पढ्न मात्रै जान्यो, कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्रै जान्यो, उ अहिले खरदार छ, म मुख्यमन्त्री छु’ उनले भनेका थिए ।
मुख्यमन्त्रीको उक्त अभिव्यक्ति अपरिपक्व, गैरजिम्मेवार र आपत्तिजनक भएको एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनका कोशी प्रदेश अध्यक्ष काशीराज पराजुली, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका कोशी प्रदेश अध्यक्ष मान बहादुर वन, माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कोशी प्रदेश अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष योगेश्वर खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कोशी प्रदेशका माननीय मुख्यमन्त्रीले दिनुभएको अभिव्यक्तिले समग्र राष्ट्रसेवकहरूलाई दुःखी बनाएको छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक दलको प्रदेशसभा सदस्यमा निर्वाचित भै कोशी प्रदेश सभाबाट अत्याधिक मतसहित निर्वाचित माननीय मुख्यमन्त्रीज्यूबाट कर्मचारीहरूका सम्बन्धमा दिनुभएको गैह्रजिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले सिंगो राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्दछौँ ।’
विज्ञप्तिमा जिम्मेवार व्यक्तित्वहरूबाट भावावेशमा आएर प्रकट गरिने यस्ता अपरिपक्व विचारले सरकारका स्थायी अङ्गका रुपमा रहेका राष्ट्रसेवकहरूको मानमर्दन भएको र राजनैतिक नेतृत्वमा रहेको चेत प्रति हामी आशंका उत्पन्न भएको उल्लेख छ ।
‘विद्यालय जस्तो पवित्र स्थानमा भविष्यका कर्णधार विद्यार्थीहरूका अगाडि मुख्यमन्त्रीज्यूले भविष्यका कर्णधार विद्यार्थीहरूलाई राष्ट्रसेवामा प्रवेश गर्न उत्प्रेरणा गर्नुको सट्टा उल्टै बेरोजगार एवं प्रतिभा पलायन बनाउने मनसायको साथ दिनुभएको यस्तो अभिव्यक्तिले कस्तो सन्देश प्रवाह गर्ला ?’ कर्मचारी सङ्गठनहरूले भनेका छन्, ‘आम कर्मचारीहरूको योग्यता र क्षमताको मानमर्दन हुनेगरि व्यक्त अभिव्यक्तिप्रति घोर निन्दा र आलोचना गर्न चाहन्छौँ, उत्तेजनामा आएर गरिएका अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकहरूको मानमर्दनमा पुगेको चोटप्रति क्षमायाचना गर्न हामी माननीय मुख्यमन्त्री समक्ष आग्रह गर्दछौँ ।’
उनीहरूले राष्ट्रसेवकहरूलाई उच्च मनोबल र आत्म सम्मानका साथ सेवा गर्ने वातावरण तयार गर्न मुख्यमन्त्री कार्कीसँग माग गरेका छन् । मुख्यमन्त्रीको अभिव्यक्तिको खण्डन नभए कर्मचारीहरू उक्त अभिव्यक्तिका विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
View : 378
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved