विराटनगर । मंगलबार राति सवा १० बजेतिर एउटा स्कार्पियो कोशी राजमार्गको उत्तरतिरबाट हुँईकिंदै आयो । विराटनगर–१८ भट्टाचोकस्थित झटिमाईमा रहेको प्रहरी टोलीले उक्त स्कार्पियोलाई रोक्न खोज्यो ।
तर स्कार्पियो रोकिनुको साटो जाँचमा खटिएका प्रहरीलाई नै झण्डै ठक्कर दिएर पूर्वतर्फ भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
त्यसरी भागेको स्कार्पियोलाई रोक्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट थप प्रहरी टोली परिचालन भएको जनाइएको छ ।
को १ च ९५८२ नम्बरको कालो रङको स्कार्पियोलाई जहदा गाउँपालिका–१ धुनी टोलबाट नियन्त्रणमा लिंदा त्यहाँभित्र प्याकिङ गरिएको अवस्थामा लुकाई राखेको १५५ किलो गाँजा बरामद भएको प्रवक्ता जोशीले जानकारी दिए ।
‘प्रहरीलाई पहिल्यै गोप्य सूचना थियो, प्रहरीले जाँच गर्ने क्रममा सवा १० बजेतिर स्कार्पियो तिब्रगतिमा आइरहेको थियो, प्रहरीले रोक्ने प्रयास गर्दा हल्का रोक्न खोजे जस्तो गर्दै प्रहरीलाई नै ठक्कर दिन खोज्दै भाग्यो, त्यसपछि प्रहरीका सो क्षेत्रका सबै युनिट परिचालन गरेर नियन्त्रणमा लिन सफल भइयो’ प्रवक्ता जोशीले भने, ‘चेकजाँच गर्ने क्रममा अगाडि अगाडि मोटरसाइकल थियो, पछाडि तीब्र गतिमा स्कार्पियो थियो, भागेको स्कार्पियो खोजतलास गर्ने क्रममा जहदाबाट नियन्त्रणमा आएको हो, गाडीको भित्रपटि प्लाष्टिकमा प्याकिङ गरेको ११५ किलो गाँजा बरामद भएको छ ।’
प्रहरीले सो स्कार्पियो नियन्त्रणमा लिन ठूलै संख्यामा प्रहरी जनशक्ति परिचालन गर्नु परेको जनाइएको छ । स्कार्पियोका चालक सुनसरीको धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र त्यसमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरू विरुद्ध लागूऔषध मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ । प्रहरीले बरामद गरेको गाडी, त्यहाँभित्रको गाँजा र गाडीमा सवार विश्वकर्मा र राईले प्रयोग गरेको तीन थान मोबाइल पनि पत्रकार सम्मेलनमार्फत बुधबार अपरान्ह सार्वजनिक गरेको हो ।
उक्त गाँजा धनकुटाबाट तराई झारेर रातको समयमा भारत लैजाने खोजिएको प्रहरीले आशंका गरेको छ ।
एक बर्षयता नेपाल प्रहरी र सशस्त्र प्रहरीले सप्तरी, सुनसरी र मोरङ जिल्लाका विभिन्न नाकाबाट भारत लैजान लागिएको गाँजा नियन्त्रण लिंदै आएको छ ।
View : 432
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved