Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसमा कारबाही : प्रतिवाद गर्ने कोइराला समूहको घोषणा

समूहको बैठकमा सहभागी सबै नेताहरुले अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय भएको कोइराला निकट नेता गुरुराज घिमिरेले जानकारी दिए ।
उद्‌घोष संवाददाता
२७ असार २०८२, शुक्रवार

विराटनगर । आफू पक्षधर नेता–कार्यकर्तालाई पार्टीको अनुशासन समितिले छानी–छानी कारबाही गरेको भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहले यसको प्रतिवाद गर्ने घोषणा गरेको छ । 

अनुशासनको कारबाही भन्दै आफू पक्षका नेताहरुलाई साधारण सदस्यबाटै निष्काशन गर्ने संस्थापनको निर्णयपछि कोइराला समूहले बिहीबार आन्तरिक छलफल गरेको थियो । 

समूहको बैठकमा सहभागी सबै नेताहरुले अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय भएको कोइराला निकट नेता गुरुराज घिमिरेले जानकारी दिए । 

प्रतिवाद कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा घिमिरेले त्यसका लागि विभिन्न विकल्पमा छलफल भएको जानकारी दिए । 

उनका अनुसार सबैभन्दा पहिले शेखर कोइराला लगायतका नेताहरूले नै सभापति शेरबहादुर देउवालाई यो कुरा अवगत गराउने निष्कर्षमा कोइराला समूह पुगेको छ । जुन तहमा कुरा गरेर सहमति भएको थियो, त्यो कुरा सभापतिलाई सम्झाउने काम सुरुमा हुने उनले जानकारी दिए । पुनरावलोकनको प्रक्रियामा पनि कारबाही भोगेकाहरु जाने उनले जानकारी दिए ।

‘पार्टीभित्र प्रतिस्पर्र्धी समूहलाई पाखा लगाउने, पेल्ने जुन प्रयत्न भएको छ, त्यसको सालिन र सभ्य रूपबाट प्रतिवाद हुन्छ’, उनले थपे ‘प्रतिवाद भेलाबाट होला, विज्ञप्तिबाट होला । त्यसका स्वरूपहरू हामी तय गर्छौं ।’

समूहको बैठकपछि नेता घिमिरले केन्द्रीय समितिको बैठकपछि पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयसहित पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने सहमति विपरीत त्यो निर्णय सार्वजनिक भएको बताए ।

‘पार्टी विधानको भावना र नियमावलीको व्यवस्था अन्तर्गत कुनै पनि पार्टीको सदस्यउपर उजुरी परेको अथवा पार्टीको नियमावली जारी भएको छ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ’ नेता घिमिरेले भने ‘उजुरी परेको अढाई वर्षपछि यो कारबाहीको निर्णय बाहिर आएको छ । 

एक प्रकारले यो कारबाही नै अवैधानिक छ ।’ 

उनले यो निर्णय पक्षपातपूर्ण भएको भन्दै गुट प्रेरित  र अर्को पक्षलाई किनारा लगाउने उद्देश्यमा आधारित भएको पनि बताए । 

१५ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारीसहित देशव्यापी अभियानमा रहेका कोइरालाले भर्खरै सकिएको केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्व र सरकारको नेतृत्वबारे अनेकौं प्रश्न गरेका थिए । 

कोइरालाले पार्टी अनुशासन समितिको कामबारे पनि प्रश्न उठाएका थिए । त्यसको केही दिनभित्रै संस्थापनइतर समूहका धेरै नेताहरुलाई छानीछानी कारबाहीको डण्डा चलाएको छ । 

कांग्रेस केन्द्रीय अनुशासन समितिले १८ जनालाई अनुशासनको कारबाही गर्दा बहुसंख्यक नेताहरु शेखर कोइराला समूहका परेका छन् ।

उनीहरुलाई २०७९ को प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उभिएको आरोपमा उजुरी थियो ।

अनुशासन समितिले बुधबार कारबाहीमा पर्नेहरुको नाम सार्वजनिक गर्दा कोशी प्रदेशका दुई जना उच्च तहका नेताहरु पनि परेका छन् । 

खोटाङ जिल्ला सभापति विष्णुकुमार राई र तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा एक वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्काशनमा परेका छन् । उनीहरु दुबैजना नेता शेखर कोइराला पक्षका हुन् ।

View : 586

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved