Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सिन्धुलीमा कार दुर्घटना हुँदा विराटनगरका अर्जेलको मृत्यु

उद्‌घोष संवाददाता
११ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त दुर्घटनामा ओम बहादुरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा परी एकै परिवारका अरु दुई जना घाइते भएका छन् । मृतकका श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ । त्यस्तै उनका छोरा ३१ वर्षीय निशान्त अर्जेल पनि घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको छ । निशान्तको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

View : 576

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved