Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

झापामा डाउन सिन्ड्रोम सोसाइटी गठन, समावेशी समाज निर्माणका लागि पहल

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

झापा । डाउन सिन्ड्रोम भएका बालबालिका तथा व्यक्तिहरूको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक समावेशीकरणका लागि झापामा डाउन सिन्ड्रोम सोसाइटी गठन गरिएको छ ।

समावेशी र समान अवसरयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सोसाइटीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

संस्थाले शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, क्षमता विकास, जनचेतना अभिवृद्धि तथा परिवारलाई आवश्यक परामर्श प्रदान गर्ने क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ। सोसाइटी गठनका लागि हाल सात सदस्यीय तदर्थ समिति निर्माण गरिएको हो ।

समितिको अध्यक्षमा महेश खड्का, उपाध्यक्षमा बिमला चौधरी, सचिवमा टिका त्रिताल, कोषाध्यक्षमा अनुप राजवंशी तथा सदस्यहरूमा झलक खतिवडा, कमल लेप्चा र बुद्धिमता अधिकारी रहेका छन् ।

तदर्थ समितिले संस्थालाई कानुनी रूपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ । साथै डाउन सिन्ड्रोम तथा अन्य बौद्धिक तथा विकासात्मक अवस्थाबारे समाजमा रहेको भ्रम र विभेद अन्त्य गर्न सचेतनामूलक अभियान सञ्चालन गरिने बताइएको छ ।

नवनिर्मित सोसाइटीले “हरेक व्यक्ति विशेष छ, हरेक जीवन अमूल्य छ” भन्ने मूल भावनालाई आत्मसात गर्दै डाउन सिन्ड्रोम भएका व्यक्तिहरूलाई समाजको मूलधारमा सहभागी गराउन विभिन्न निकायसँग सहकार्य गर्ने योजना बनाएको छ ।

संस्थाका पदाधिकारीहरूका अनुसार डाउन सिन्ड्रोम भएका बालबालिकाले समयमै उचित शिक्षा, स्वास्थ्य सेवा, पुनर्स्थापना तथा सामाजिक समर्थन पाएमा उनीहरू पनि आत्मनिर्भर र सम्मानित जीवनयापन गर्न सक्षम हुने भएकाले यस विषयमा राज्य, समुदाय र परिवार सबैको संयुक्त प्रयास आवश्यक छ ।

विश्व स्वास्थ्य तथा विकाससम्बन्धी विभिन्न अध्ययनहरूले विकासात्मक अवस्थासम्बन्धी चुनौतीहरू लिएर जन्मिने बालबालिकाको संख्या उल्लेखनीय रहेको देखाउँछन् ।

यस्ता बालबालिकाका लागि प्रारम्भिक पहिचान, नियमित उपचार, विशेष शिक्षा र सामाजिक स्वीकार्यता महत्वपूर्ण मानिन्छ ।

झापामा पहिलो पटक यस प्रकारको संस्थागत पहल सुरु भएकाले डाउन सिन्ड्रोम भएका व्यक्ति र उनीहरूका परिवारका लागि यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

स्थानीय सरोकारवालाले पनि यसले समावेशी समाज निर्माणको अभियानलाई थप बल पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

View : 175

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved