विराटनगर, २२ कात्तिक : कोशी प्रदेश सभाका सातवटा बिषयगत समितिका सदस्यहरु मनोनित भएका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकमा उपसभामुख सृजना दनुवारले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ अनुसार विषयगत समितिका सदस्यहरु मनोनित गरिएको घोषणा गरिन् ।
सदस्यहरु मनोनित भएसँगै प्रदेशसभा गठन भएको १० महिनापछि विषयगत समितिहरुले पूर्णता पाएका छन् । अब समितिका सभापतिहरु चयन हुनेछन् ।
प्रदेश सभाका विषयगत समितिहरु ‘मिनी संसद’ का रुपमा चिनिन्छन् । यी समितिहरु गठन नहुँदा कोशी प्रदेशको प्रदेश सभाको प्रभावकारिता बढ्न सकेको थिएन । विषयगत समितिकै अभावमा प्रदेश सभामा पेश भएका विधेयकहरुमाथि सरोकारवालासहितको छलफल पनि हुन सकेको थिएन ।
प्रदेश सभाको बैठकले पुरानै प्रदेशसभा नियमावली अनुसार विषयगत समितिलाई पूर्णता दिएको हो । जस अनुसार न्याय, प्रशासन तथा विधायन समितिमा अम्बरबहादुर बिष्ट, खगेश्वरी पौड्याल, गीता तिम्सिना, गोम्बु शेर्पा, भूपेन्द्र राई, रमेशकुमार बस्नेत, रामबहादुर मगर, ललिताकुमारी चौधरी, लिलाबल्लभ अधिकारी, विनोद राई, शीला दीक्षित कार्की र होमबहादुर थापा रहेका छन् ।
सुशासन तथा योजना समितिमा इन्दिरा थापा, इन्द्रबहादुर आङ्बो, उद्धव थापा, कमला दर्नाल, नारायण बहादुर मगर, निर्मला लिम्बू, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बू, मीना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लखिकुमारी गणेश, लीलाकुमारी राई र हिक्मतकुमार कार्की रहेका छन् ।
अर्थ समितिमा गोपाल तामाङ, छविलाल चुडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुवेदी, तारादेवी ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बू, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजय राई, विदुरकुमार लिंथेप, सबिना बजगाई र सुनिता कुमारी गुरुङ सदस्य रहेका छन् ।
प्रदेश सभाको सबैभन्दा बलियो र महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिमा किशोरचन्द्र दुलाल, गीतारानी महतो, दुर्गाप्रसाद चापागाई, पाँचकर्ण राई, प्रदिपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रेवतीरमण भण्डारी, सदानन्द मण्डल र हिमाल कार्की सदस्यमा मनोनित भएका छन् ।
सामाजिक विकास समितिमा इस्राईल मन्सुरी, गयानन्द मण्डल, गीतादेवी रेग्मी, तिलचन पाठक, नम्बरलाल धिमाल, ममता तामाङ मगर, राजन किराँती, रामदेव यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोङ, सपना दर्जी र सिर्जना राई सदस्य चयन भएका छन् ।
उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा उमाकान्त गौतम, कमला थापा मगर, खगेन सिं हाङ्गाम, खिन लङ्वा (लिम्बू), गोपालबहादुर विश्वकर्मा, जयप्रकाश चौधरी, निरन राई, निरादेवी खनाल, बुद्धि कुमार राजभण्डारी, मैया श्रेष्ठ, राजेन्द्र कार्की, सम्झना तामाङ थाम्सुहाङ र सुनिता गच्छदार (चौधरी) छन् ।
प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा अमृत अर्याल, इन्द्रमणि पराजुली, एकराज कार्की, खड्गबहादुर बस्नेत, गोविन्द गिरी, डोल्मा तामाङ, तिलकुमार मेन्याङ्वो, नीमसरी राजवंशी, नुरशदी वेगम, बन्दना झागर, मोहन महर्जन र रामप्रसाद महतो रहेको जनाइएको छ ।
सोमबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाका सातवटै विषयगत समितिहरुमा सदस्यहरुको नाम टुंगो लगाउने दलहरुबीच सहमति भएको र सोही सहमति अनुसार सदस्यहरु मनोनित भएको उपसभामुख दनुवारले बताइन् ।
प्रदेश सभाको प्रभावकारिता बढाउन र सरकारलाई प्रदेश सभाप्रति अझ उत्तरदायी बनाउन समितिहरुको गठन हुनुपर्नेमा अहिलेसम्म विभिन्न कारणहरुले ढिलाई हुँदै आएकाले सबै दलहरुसँगको सहमतिमा समितिलाई पूर्णता दिइएको उनले जानकारी दिइन् ।
‘कोशी प्रदेशमा लामो समयदेखि विषयगत समितिहरु गठन हुन सकेका थिएनन्, दलहरुबीच यसका लागि सहमतिको वातावरण पनि नबनेको अवस्थामा पछिल्लो पटक समिति गठनको प्रयास सफल भएको छ’ उपसभामुख दनुवारले भनिन्, ‘समिति गठन भएर सदस्यहरु मनोनित गरिएकोले चाँडै सभापतिहरु समेत चयन हुने र प्रदेश सभाको प्रभावकारिता अझ बढेर जाने विश्वास छ ।’
संविधानको धारा १९३ मा प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्ने व्यवस्था छ ।
प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने समेतका लागि प्रदेश सभाको नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम १३० बमोजिम सातवटा समिति रहने उल्लेख छ ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची–१ र २ अनुसार बिषयगत समितिको सभापतिलाई प्रदेश सभा सदस्यले पाउने बाहेक एउटा सवारी साधन र एकजना सवारी चालक थप सुविधा हुने व्यवस्था रहेको छ ।
View : 206
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved