Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

उद्‌घोष सम्वाददाता
११ पुष २०८०, बुधवार

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङको पुस २८ गते हुने दोस्रो अधिवेशनमा अध्यक्षका लागि देशबन्धु ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

ढकाल संघका वर्तमान उपाध्यक्ष हुन् । गत मंसिरमा हुने भनिएको अधिवेशन प्राविधिक कारणले रोकिएपछि निर्वाचन समितिले पुस २८ गतेलाई अधिवेशनको मिति तय गरेपछि नेतृत्वका आकांक्षीहरुले उम्मेदवार घोषणा गर्न थालेका  हुन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकाल २०५३ सालदेखि औषधि व्यवसाय क्षेत्रमा आबद्ध छन् । प्रथम अधिवेशनमा उनी उपाध्यक्षमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका थिए ।

व्यवसायीहरुको हकहित र उनीहरुका समस्या समाधानका लागि सधै खरो उत्रने र  संघलाई चलायनमान गर्ने काममा अब्बल देखिएका कारण ढकाल औषधि व्यवसायीहरु माझ लोकप्रिय छन् । पेशागत इमान्दारिता र व्यवसायीक एकतालाई आफूले चुनावी एजेण्डा बनाएको ढकालले बताए ।

अर्का औषधि व्यवसायी सुदिनध्वज श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । प्रथम अधिवेशनमा ढकालले श्रेष्ठलाई उपाध्यक्षमा पराजित गरेका थिए । त्यसबेलाको निर्वाचनमा ढकालले २९९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १३५ मत पाएका थिए ।

अघिल्लो अधिवेशनमा जस्तै आगामी अधिवेशनमा पनि ढकाल र श्रेष्ठ आमने–सामने हुने संभावना बढेको छ ।

अध्यक्षमा दुईजना आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कमजोर  हुँदै गएको छ । दुवै पक्षले प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन् ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा हरि रेग्मी, उपाध्यक्षमा अनिल शर्मा चौधरी, महासचिवमा प्रकाश धिमाल, अरुणकुमार ठाकुर, कोषाध्यक्षमा वेदबहादुर थापा (गणेश) लगायतले उम्मेदवारी घोषणा गरेका छन् । संघमा ४१५ जना मतदाता सदस्य छन् ।

View : 266

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved