Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका पहाडी जिल्लामा ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

उद्घोष सम्वाददाता
११ असोज २०८१, शुक्रवार

विराटनगर । बिहीबारदेखिको अविरल वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेका छन् । 

खोटाङ, भोजपुर, इलाम, पाँचथर लगायतका जिल्लाका सडक अवरुद्ध हुने गरी पहिरो खसेको जनाइएको छ । पहिरोले सडक अवरुद्ध बनेका छन् । 

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार शुक्रबार अपरान्ह १२ बजेतिर मध्यपहाडी लोकमार्गमा पर्ने हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारमा खसेको पहिरोले सडक अवरुद्ध बनेको छ । करिव ४० मिटर माथिबाट खसेको पहिरो २० मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

ठुलो पहिरो खसेको र वर्षापनि नरोकिएका कारण सडक विभागमा गएको डोजरलाई तत्कालै सडक खुलाउन कठिनाइ भइरहेको जनाइएको छ ।

पाँचथरमा अविरल वर्षाका कारण रबि–राँके सडक खण्डको गेलीभञ्जाङमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तमोर करिडोर अन्तरगत नावाखोलामा खोलाको बाढीले सडक क्षतिग्रस्त बनाएको जनाइएको छ । 

पाँचथरस्थित मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापु सडकखण्ड अन्तरगत दोभान खोलामा बनाइएको डाइभर्सन बगाउँदा सडक यातायात पूर्ण रुपमा अवरुद्ध बनेको छ । 

वर्षा जारी रहँदा इलामका ग्रामीण सडकहरू पनि अवरुद्ध बनेका छन् । सडक खण्डमा पहिरो खसी यातायात अवरुद्ध हुन थालेको प्रहरीले जनाएको छ । 

फिक्कल–गुप्ती–नयाँबजार सडक खण्डको गुप्तीमा सडक भासिएर यातायात अवरुद्ध बनेको छ । माइजोगमाई–५ सोयाङमा रूख ढलेर सडक अवरुद्ध भएको छ । 

त्यसैगरी सूर्योदय नगरपालिका–६ हर्कटे, रोङ गाउँपालिका–६ को रम्भ्याज्याङ, झण्डीडाँडादेखि सलकपुर जोड्ने सडक पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पशुपतिनगर–मानेभञ्ज्याङ सडकमा समेत पहिरो गएर अवरुद्ध भएको जनाइएको छ ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved