कोशी प्रदेशस्तरीय ह्वीलचेयर दौड प्रतियोगिता
विराटनगर । १७ औं अन्तर्राष्ट्रिय ह्विलचेयर दिवसको अवसरमा इटहरीमा सम्पन्न कोशी प्रदेशस्तरीय ह्वीलचेयर दौड प्रतियोगितामा महिलातर्फ रोशनी लामा र पुरुषतर्फ विष्णुकान्त चौधरी प्रथम भएका छन् ।
प्रतियोगितामा द्वितीय तृतीय महिलातर्फ दीपकला राई र तृप्ता मगर, पुरुषतर्फ नविराज राई र निराजन विश्वकर्मा भए ।
उपयुक्त ह्विलचेयर, पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशीलता हाम्रो अधिकार’ भन्ने मुल नारासहित विभिन्न कार्यक्रम गरी नेपालभरी १७ औं अन्तर्राष्ट्रिय ह्विलचेयर दिवस मनाइएको सामुदायिक पुनर्स्थापना केन्द्र विराटनगर समितिकी सदस्य आकृतिरानी फुयालले बताइन् ।
यसै अवसरमा मेरुदण्डमा आघात भएकाहरुको संस्था मेरुदण्ड आघात संघ नेपाल (एसआईएसएन) कोशी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय छैटौं इटहरी ह्विलचेयर दौड २०८१ को आयोजना गरिएको थियो ।
महिला पुरुष गरी छुट्टाछुट्टै समूह गरी गराइएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई प्रोत्साहन स्वरुप क्रमशः ८, ६ र ४ हजार नगदसहित पदक र प्रमाणपत्रप्रदान गरिएको थियो ।
दुबै समूह गरी ६० जनाको सहभागिता रहेको सो ह्विलचेयर दौडमा विराटनगर, इटहरी, धरान, दमक लगायतका स्थानका ह्विलचेयर (गुड्के) प्रयोगकर्ता व्यक्तिहरुको सहभागिता थियो ।
कार्यक्रममा दौडमा विजयीहरुलाई संघका कोशी प्रदेश अध्यक्ष विक्रम घिमिरे, महासचिव राजन बराइली र इटहरी उपमहानगरकी उपप्रमुख संगीता चौधरीले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा राष्ट्रिय अपाङ्ग कोषकी सदस्य सचिव भीमा खतिवडा, इटहरी नगर कार्यपालिका सदस्य दिनेश रसाइली, समाजसेवी नेत्र चौलागाईं, विराटनगर बहिरङ सेवा सामर्थ्य समाजका अध्यक्ष चेतनाथ पोखरेल, सीबीआर विराटनगरकी सदस्य आकृतिरानी फुयाल लगायतका अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
View : 101
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved