Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रदेशका नागरिकलाई सहजै दशैँ मान्न आउने व्यवस्था गर्न कांग्रेसको माग

उद्घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । प्रदेशदेखि संघ सरकारमा आफै सहभागी भएको नेपाली कांग्रेसले बाढी पहिरोका कारण सडक अवरुद्ध भएर दशैँमा घर फर्किन नपाउने सर्वसाधारण नागरिकलाई घर फर्किने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

बाढी पहिरोले काठमाडौंसँग जोडिएका सडक भत्किएपछि नजिकिएको दशैँमा घर आउन नपाएका नागरिकलाई सहज रुपमा आउने व्यवस्था गर्न नेपाली कांग्रेस कोशी प्रदेश समितिले सरकारसँग आग्रह गरेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस कोशी प्रदेश समितिका प्रवक्ता यदु बिष्टले दशैँमा राजधानीबाट घर आउन चाहने सर्वसाधारण नागरिकलाई कोशी प्रदेश आउन अत्यन्तै कठिन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘भर्खरै गएको बाढी पहिरोका कारण खास गरेर काठमाडौंसँग जोड्ने सडकहरू भत्किएर अवरुद्ध भएका छन्’ उनले भने, ‘दशैँमा राजधानीबाट घर आउन चाहने सर्वसाधारण नागरिकलाई अत्यन्त कठिन भइरहेको छ, यस्तो जटिल परिस्थितिमा कोशी प्रदेश सरकारले आफ्नो प्रदेशका नागरिकलाई सहजै दशैँ मान्न आउने व्यवस्थाका लागि विशेष पहल गर्न अनुरोध गर्दछौं ।’ 

उनले अवरुद्ध भएका सडकहरू यथाशिघ्र सञ्चालनमा ल्याउन समेत सरकारलाई आग्रह गरे । अविरल वर्षाका कारण देशैभरि ठूलो जनधनको क्षति भएको भन्दै मृतक परिवारलाई विशेष राहतको व्यवस्था गर्न, पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था र घाइते सबैको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

साथै अहिलेको जटिल अवस्थामा नेपाली कांग्रेसका सबै कार्यकर्ताहरू राहत र उद्धारको कार्यमा सक्रिय भई लाग्न पनि प्रवक्ता बिष्टले आग्रह गरेका छन् । 

उनले मुलुकमा कालाबजारी, महङ्गी, भ्रष्टाचार बढेको भन्दै कांग्रेस कोशी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको बताए । बिष्टले कांग्रेस कोशी प्रदेश कार्यसमितिले हाल पूर्णता प्राप्त गरी २२ वटा विभागहरू गठन गरेको र नियमित गतिविधिहरू निरन्तर गरिरहेको दाबी गरे । 

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved