Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

नेतालाई मात्रै प्रजातन्त्र आयो, जनतालाई आएन: डा.शेखर

उद्घोष सम्वाददाता
२३ माघ २०८०, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा शेखर कोइरालाले नेपालमा नेताहरुका लागि मात्रै प्रजातन्त्र आएको टिप्पणी गरेका छन् । उनले जनताको अवस्था सुधार नभएको, भ्रष्टाचार नरोकिएको र कानुनी राज्य नभएको बताएका हुन् ।

मंगलबार विराटनगरमा आयोजित लघुवित्तहरुको सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्रबैंकले नेपालमा वित्तीय क्षेत्रमा देखिएको अराजकता अन्त्य गर्न नसकेको पनि बताए ।

एउटै व्यक्ति वा घराना बैंकरदेखि उद्योगी–व्यवसायी, इस्योरेन्स–रिइन्स्योरेन्स कम्पनीको संचालक हुने गरेका कारण वित्तीय क्षेत्रमा सुधार आवश्यक रहेको उनले सुझाव दिए । अहिले किसानले पाउने कृषि ऋण समेत ठुला उद्योगी व्यवसायीहरुकै हातमा पुगेको भन्दै उनले जनताले प्रजातन्त्रको महसुस गर्न नसकेको बताए ।

‘किसानले पाउने कृषि ऋण उद्योगी व्यवसायीहरुले नै लिइरहेका छन्, कस्तो भने–हामीलाई मात्रै प्रजातन्त्र आयो, जनतालाई आएको छैन’ उनले भने, ‘भ्रष्टाचार रोकिएको छैन, कानुनी राज्य छैन, जनतालाई रोजगारी छैन, सवैभन्द ठुलो मिटरब्याजी बैंकहरु भएका छन् ।’

उनले प्रजातन्त्र भएको मुलुकका जनताका लागि रोजगारीको प्रत्याभूति हुनुपर्ने बताए । लघुवित्त क्षेत्रले केही मात्रामा भए पनि रोजगारी सृजना गरेको बताए । अहिले पढेलेखेका डाक्टर र इन्जिनियरहरु समेत देश छाडेर जाने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

नेता कोइरालाले ग्रामीण अर्थतन्त्रलाई जोगाउन, महिलाहरुलाई आर्थिक गतिविधिमा क्रियाशील बनाउन लघुवित्तहरुको महत्वपूर्ण भूमिका देखिएको बताए । साथै उनले अहिले धितो लिएर मात्रै ऋण लगानी गर्ने बिषयमा छलफल भइरहेको भन्दै लघुवित्त क्षेत्रले बिना धितो समुदायमा लगानी गर्नुपर्ने सुझाव दिए । साथै लघुवित्त क्षेत्रमा देखिएका केही समस्यालाई समाधान गर्दै लैजानुपर्ने पनि बताए ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले लघुवित्त खराब हो भन्दै अभियान चल्ने गरेको भन्दै असन्तुष्टि जनाए । उनले समुदायमा एउटै व्यक्ति धेरैवटा लघुवित्तमा बस्ने कुरालाई न्यूनिकरण गर्दै लैजानुपर्ने सुझाव दिए । 

कार्यक्रममा कोशी प्रदेश सभाका सदस्यहरु गयानन्द मण्डल, ललिताकुमारी चौधरी, धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदार, ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारु लगायतले समुदायमा लघुवित्तको आवश्यकबारे धारणा राखेका थिए । 

सो अवसरमा कोशी प्रदेशमा विक्तीय कारोबार गर्दै आएका ८ वटा लघुवित्त तथा सहकारी संस्थाहरुले गत बर्ष संयुत्त रुपमा आयोजना गरेको लघुवित्त सम्मेलनको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

View : 159

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved