सुन्दरहरैंचा । सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा र बंगलादेशको राजधानीमा अवस्थित सूचना प्रविधि तथा विज्ञान विश्वविद्यालय (यूआईटीएस) बीच शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा सम्बन्ध विकास र विस्तार गर्ने विषयमा एक सम्झौता सम्पन्न भएको छ ।
गत पुस २९ देखि माघ ८ गतेसम्मका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी‚ उपाध्यक्ष ललितबहादुर श्रेष्ठ‚ लेखा समितिका संयोजक चन्द्रप्रसाद फुयल‚ पुनरावेदन समितिका संयोजक उमेश वस्ती‚ क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलगायत सञ्चालक समितिका सदस्यहरू‚ शिक्षक तथा कर्मचारीहरू बंलादेशका विभिन्न विश्वविद्यालयहरू र क्याम्पसहरूको अवलोकन भ्रमणमा छन् । भ्रमणका क्रममा बंगलादेशका दुईवटा विश्वविद्यालयहरूसँग आपसी सम्बन्ध विस्तारको सम्झौता गर्ने उद्देश्य राखिएको छ ।
पुस ४ मा भएको सम्झौता अनुसार दुवै शैक्षिक संस्थाहरूले एकआपसमा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने, विद्यार्थी तथा शिक्षक आदानप्रदान गरी सम्बन्ध सुमधुर गर्ने र प्रकाशनका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौता पत्रमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले र (यूआईटीएस) ढाका‚ बंगलादेशको तर्फबाट सो विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अब्बु हसन भुइँयाले हस्ताक्षर गरेको जानकारी सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइका प्रमुख गणेशप्रसाद दहालले दिएका छन् ।
सम्झौता आदानप्रदान कार्यक्रममा सो विश्वविद्यालयका रजिष्ट्रार‚ आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख‚ शिक्षक तथा कर्मचारीहरूको उपस्थिति थियो । सुकुना क्याम्पसको भ्रमण टोलीले ढाकास्थित नेपाली राजदुत घनश्याम भण्डारीसँग भेटगरी बंगलादेशले क्याम्पसको शैक्षिक‚ भौतिक‚ प्राविधिक र अनुसन्धानका क्षेत्रमा पुर्याउने सहयोगका सम्भावनाहरूका विषयमा छलफलसमेत गरेको थियो ।
सहायक क्याम्पस प्रमुख दहालका अनुसार हालसम्म क्याम्पसले भारतस्थित आसाम डाउनटाउन विश्वविद्यालय गुवाहाटी‚ आईटीएस विश्वविद्यालय ढाका र काठमाडौ विश्वविद्यालयसँग पारस्पारिक सहयोग आदान प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भइसकेको छ । क्याम्पसले यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै आफ्ना अनुभवहरूलाई परिपक्व बनाउनु खुशीको विषय भएको उल्लेख गरिएको छ ।
View : 232
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved