विराटनगर । कोशीमा भागमा परेका मन्त्रालय खाली भएको डेढ महिनापछि नेपाली काङ्ग्रेसले मन्त्री पठाएको छ । काङ्ग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार सपथ ग्रहण गर्दै सम्बन्धित मन्त्रालयहरूमा पदभार ग्रहण गरेका छन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम र पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डललाई पद तथा गोपनियताको सपथ गराएका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भुमी प्रसाद राजवंशीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नेता कृष्ण सिटौला समुहका सांसद भुपेन्द्र राईको नेतृत्वमा काङ्ग्रेस कोशी सरकारमा सहभागी भएको हो । राई काङ्ग्रेसबाट पहिलो वरियताको भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका हुन् ।
काङ्ग्रेस संस्थापन पक्षबाट हाङ्गाम र मण्डल मन्त्री बनेका हुन् । राज्यमन्त्री बनेका राजवंशी भने सिटौला समुहकै हुन् ।
गत साउन ११ मा माओवादीका मन्त्रीहरूले राजिनामा दिएपछि कोशी प्रदेश सरकार एमालेले एकल रुपमा चलाउँदै आएको छ । काङ्ग्रेसले गुट व्यवस्थापन गर्न नसक्दा मन्त्री छान्नै नसक्ने अवस्था बनेको थियो ।
लामो समयपछि शुक्रबार चार मन्त्रीले सपथ लिएका छन् । काङ्ग्रेसका चार मन्त्रीले सपथ लिएपनि शेखर कोइराला समुहबाट भने मन्त्री परेका छैनन् । कोइराला समुहले मागेका दुई मन्त्री नपाएपछि नाम नदिएको काङ्ग्रेस स्रोतको भनाई छ ।
दुईवटा क्याबिनेट मन्त्री नपाए आफ्नो समुहबाट सरकारमै नजाने कोइराला समुहको अडान रहेको जनाइएको छ ।
View : 131
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved