विराटनगर, १७ मंसिर : मोरङ प्रहरीले फरार अपराधी पक्राउमा सफलता हासिल गरेको छ । छोटो अवधिमा धेरैलाई नियन्त्रणमा लिएर प्रहरीले फरार अपराधी पक्राउ अभियानलाई जारी राखेको छ ।
अदालतबाट दोषी ठहर भई लुकेर बसेका फरार प्रतिवादी गएको साउनदेखि मंसिर १६ गतेसम्ममा २ सय ७ जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो १५ र १६ गते मात्रै बलात्कार, लागुऔषध, वन पैदावर कसुरका १० जनालाई पक्राउ गरिएको छ । यी १० जनालाई उर्लाबारी, केराबारी र विराटचोकबाट परिचालित प्रहरीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा आसय करणीमा ५ हजार रुपैयाँ जरिवाना तोकिएका गोपाल मगर, लागुऔषधका सुजन राना मगर, जनकराम कामी, नवीन पुरी, रुपेश तामाङ, करण मगत, बिपिन लिम्बू तथा वन पैदावर मुद्दाका टेकबहादुर श्रेष्ठ, रोबिनकुमार घिमिरे र मेखबहादुर तामाङ रहेका छन् । उनीहरूले बिभिन्न मितिमा गरेको अपराधविरुद्ध अदालतले जरिवाना तथा कैद फैसला गरेको थियो ।
मोरङ प्रहरीले मिसन बनाएर पक्राउ गरेका २ सय ७ जनाले भुक्तान गर्नुपर्ने ५३ वर्ष ३ महिना २९ दिन कैद भुक्तानका लागि अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । यस्तै पक्राउ परेकाबाट जरिवानावापत ३६ लाख ४ हजार ४ सय २४ रुपैयाँ असुल हुने प्रहरीले जनाएको छ ।
साढे चार महिनामा पाएको यो सफलता गएको एक वर्षको भन्दा बढी भएको प्रहरीले दावी गरेको छ । अदालतको फैसला कार्यान्वयन गराएर मानिसमा न्यायप्रतिको विश्वास बढाउन अभियानमार्फत फरारहरू खोज्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।
फरार अभियुक्त खोज्न अदालतबाट लगत संकलन गरेर सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरी पक्राउ गर्ने अभियान चलाइएको उनको भनाइ छ ।
View : 176
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved