Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

जीवन संघर्ष :

वैदेशिक रोजगारीबाट फर्किएका तीन महिलाहरूको कथा

जो अनेकौं हण्डरले पनि थाकेनन्
जुनु भट्टराई
२६ साउन २०८१, शनिवार

विराटनगर । तीन नेपाली महिलाको साहसिक कथा जो अनेकौ अप्ठयाराहरू पार गर्दै वैदेशिक रोजगारीमा आफ्नो ऊर्जाशील समय बिताए । अनेकौ हण्डरहरू खाए, तर हार भने मानेनन् ।

‘अहिले इरिक्सा चलाउछु, आफ्नो पेशाप्रति गर्व छ’

माया शेर्पा
बराहक्षेत्र नगरपालिका–२, सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ की माया शेर्पा १५ वर्षअगाडि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगिन् । उनी आधिकारिक कागजात बिना भारतको दिल्ली हुँदै कुवेत पुगिन् ।

घरेलु कामदारको रुपमा कुवेत पुगेकी मायालाई त्यहाँ भाषाको समस्या त एकातिर छँदै थियो, सम्झौताविपरीत २४ घण्टामा १९ घण्टा बिना आराम काम गर्नुपर्दा निक्कै कष्ट सहनुपर्यो । 

अनेकौ कठिनाइका बाबजुद पनि अढाई वर्ष कुवेत बसेर नेपालमै केही गर्न सक्छु भन्ने सोच र आत्मविश्वास बोकेर उनी नेपाल फर्किन् । तर आफू फर्किएपछि समाजमा उनीप्रति उनले सोचेजस्तो सकरात्मक ब्यवहार पाइनन् । वैदेशिक रोजगारीबाट फर्किएकी श्रीमतीलाई स्वीकार नगर्न र अर्को विवाह गर्न समेत उनका श्रीमानलाई दवाब दिने समाजमा लडेर खान उनले निकै ठूलो साहस बटुल्नुपर्यो । 

श्रीमानले आफू विदेश जाने इच्छा देखाएपछि भएको बचतको सबै पैसा लगाएर श्रीमानलाई साउदी अरब् पठाइन् । फेरि गाउँमा उही संर्घषको दिनहरू सुरु भए । भएको अलिकति जमिनमा खेती गर्ने, गाईवस्तुलाई घाँसपात गर्दैमा दिन बित्न थाले । तर त्यतिले परिवारको खर्च धान्ने अवस्था भने थिएन ।

खर्चको जिम्मेवारी कसरी पूरा गर्ने होला भन्ने चिन्ताले सताइरहेको समयमा ७ वर्षअगाडि एक गैरसरकारी संस्थाले वैदेशिक रोजगारीमा गएर फर्किएका महिलाहरूलाई पुनः विदेशिने बाध्यात्मक स्थिति सृजना नहोस् भनेर ३० प्रतिशत अनुदानमा विद्युतीय रिक्सा उपलब्ध गराएको थियो । माया हाल त्यही रिक्सा चलाउँछिन् । 
विद्युतीय रिक्सा चलाउन सुरु गरेदेखि छोराछोरीलाई राम्रो खानपान र शिक्षादिक्षा दिन पनि आफू सक्षम भएको उनी बताउँछिन् । 

‘पहिले दुई–चार पैसा आवश्यक पर्दा श्रीमान र छरछिमेकमा हात फैलाउनुपर्थ्यो, अहिले अरुलाई दिन सक्ने भएकी छु, त्यसैले आफू र आफ्नो पेशाप्रति निकै गर्व लाग्छ,’ माया भन्छिन् ।  

कसैले महिला भएर पनि पुरुष सरह गरेको काम भनेर प्रशंसा गर्ने र कसैले स्याबासीसँगै दुई–चार पैसा बढी पनि दिंदा त्यो पल अत्यन्तै खुसी लाग्ने उनी बताउँछिन् ।

रिक्सा चलाउने क्रममा २०७५ सालमा मायाले पहिलो फटक सुनसरीकै चक्रघट्टीमा महिला समूहले आयोजना गरेको तिज विशेष कार्यत्रममा उनी साहसी महिलाको रुपमा सम्मानित हुँदै पुरस्कृत भइन् । 

त्यस्तै गरी २०८१ सालमा कालाबञ्जारमा महिला हिंसा विरुद्धको कार्यक्रम गर्दा उनी पुनः सम्मानित र पुरस्कृत भइन् । त्यसले उनलाई आफ्नो मेहेनत र पेशाप्रति गर्व मात्र होइन, थप ऊर्जा समेत प्रदान गर्यो ।

त्यसो त जतिसुकै सोच फराकिलो बनाए पनि एउटी महिलालाई पुरुष सरह काम गर्न सहज नहुने उनको धारणा छ । बिहान सबेरै उठेर दिनभरीको लागि वस्तुभाउको लागि घाँसपानी, छोराछोरीको खानपान, स्कुलको खाजा समेत तयार गरी रिक्सा चलाउन निस्कनु, साँझ परेपछि घर फर्किएर केटाकेटी पढाउने, बेलुकाको भान्छाको जिम्मेवारी पूरा गर्नु उनको दैनिकीले एउटी महिलाले पुरुषसरह अघि बढ्न कति संर्घष गर्नुपर्छ भन्ने प्रष्ट पार्छ ।

‘एउटी महिलालाई रिक्सा चलाउन सोचे जस्तो सहज छैन । कसैकसैले महिलाले रिक्सा चलाएको भनेर ओभरटेक गर्ने, ठोकक्याउला जस्तो गर्ने पनि गर्छन् । 

गाडीको टाढाको रुट, सुनसरीको झुम्का, कान्छी चोक, कालाबञ्जरलगायतका ठाउँहरूमा जानुपर्दा त्यहाँको घनघोर जड्गलमा पनि कुदाउनुपर्छ, त्यो बेला भने साह्रै डर हुन्छ’, माया भन्छिन् ।

आफूहरूजस्तो बिभिन्न जोखिम उठाएर विदेसिनुको सट्टा नेपालमै केही गरौं भन्ने भावना बोकेका दिदीबहिनीलाई अनुकूल वातावरण सृजना गर्न समाज तथा राज्यको जिम्मेवारी खासै नभएको मायाको गुनासो छ ।

महिला अधिकारका विषयमा ठूला–ठूला भाषण र गोष्ठी हुने तर उनी जस्ता गरिब तथा मेहेनत गरेर खानेहरूको हकअधिकारको विषयमा सम्बोधन नहुनाले अझै पनि धेरै महिलाहरू गैरकानुनी रुपमा विदेशिरहेको आफूले देखेको उनी बताउँछिन् । 

यसमा सरकार विशेष गरी स्थानीय सरकारले आफूजस्ता वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको पुनः एकीकरण गरी उनीहरूलाई स्वदेशमै केही गर्ने वातावरण सृजना गरिदिन अनुरोध पनि गर्छिन् ।

‘कमाएको पेसाले श्रीमानको काजक्रिया गरेँ’
सरस्वती लुईंटेल 
अध्यक्ष, ऊर्जाशील महिला समूह, बराहक्षेत्र–२

सुनसरी बराहक्षेत्रकै अर्की महिला सरस्वती लुईंटेलले वैदेशिक रोजगारीका लागि आफ्नो ऊर्जाशील समय साढे ४ वर्ष बिताइन् । ४५ वर्षीय लुईंटेल ६६ सालमा विदेसिदा घरमा ६ वर्षीय छोरी र ३ वर्षका काखे छोरा थिए । घरको नाजुक अवस्थाका कारण श्रीमानलाई वैदेशिक रोजगारीमा जान अनुरोध गर्दा नमानेपछि उनी आफैले छोराछोरी र परिवारको

भविष्य उज्ज्वल बनाउन साउदी अरब जाने योजना बनाइन् । तर त्यो समयमा गाउँघरबाट कोही पनि महिला घर छोडेर कामको लागि विदेश गएका थिएनन् ।
‘नराम्रो भए फर्केर आउँछु, राम्रो भए कमाएर आउँला’ यही सोचले परिवारको खुसीको लागि अनेकौ जोखिम उठाउँदै केही हुन्छ कि भनेर विदेशिए पनि उनको जिन्दगी सोचेजस्तो बन्न सकेन ।

‘हातमा अरु कुनै सीप थिएन, आफूले जे जानेको थियो, त्यही गर्नुपर्ने थियो,’ उनले भनिन्, ‘सरसफाइको काम गर्नुपर्थ्यो, त्यो पनि एकै ठाउँमा होइन, कम्पनीले कहिले कहाँ त कहिले कहाँ पुर्‍याउँथ्यो । 

त्यैपनि रोजगारीमा गएको केही महिनासम्म ऋण तिरेर परिवारको आर्थिक अवस्था त जसोतसो धान्दै थिइन्, त्यहीबीचमा उनीमाथि ठूलो बज्रपात आइलाग्यो, रोजगारीको लागि साउदीमा रहँदा श्रीमान गुमाइन् ।

श्रीमान बितेपछि छोराछोरीको जिम्मेवारी सम्हाल्न नेपाल नफर्की उनलाई सुख भएन । घरमा पठाएर बचाएको केही रकम लिएर उनी २ वर्षपछि नेपाल फर्किन् । अलिकति बचाएको पैसा लिएर आएर पशुपतिमा बसी श्रीमानको काजक्रिया गरिन् । 

‘भएको पैसा सबै सकियो । घरको समस्या जहाँको त्यहीँ रह्यो, सरस्वती भन्छिन्, ‘छोराछोरीलाई कसरी हुर्काउने पठाउने भन्ने चिन्ताले दिनरात पिरोल्न थालेपछि छोराछोरीलाई जेठाजुको परिवारलाई जिम्मा लगाएर आफू फेरि कुवेत गए ।’

कुवेतमा रहँदा उनलाई स्वास्थ्यले साथ दिएन ।  त्यसैले उपचार गराउने सोचले बचेको अलिकति पैसा बोकेर नेपाल फर्किइन् । ‘विदेशिनु मात्र बाध्यता भएन मेरो लागि, बिना पैसा नेपाल फर्किनु पनि बाध्यता बन्यो,’ सरस्वती भन्छिन्, ‘त्यतिबेला पत्थरीको अप्रेशन गर्नुपर्ने थियो, समाजले उनलाई एचआईभी बोकेर नेपालमा उपचार गर्न फर्केकी समेत भन्न भ्याए, त्यो बेला मैले कस्तो मानसिक यातना भोग्नुपर्यो, अहिले सम्झदा कहाली लागेर आउँछ ।’

वर्षौ विदेशमा बसेर श्रम पसिना बगाएर पनि घरको आर्थिक अवस्था बलियो बनाउन नसक्नुको पीडा एकातिर छ, अर्कोतिर बिनागल्ती समाजबाट हिंसा सहन बाध्य बन्नुपर्दा दुःख लाग्ने  उनी बताउँछिन् ।

त्यो बेला श्रीमान गुमाउँदाको पीडा र परिवारको जिम्मेवारीले कमजोर बनाइरहेको समयमा समाजले गरेको ब्यवहारले झनै विक्षिप्त बनाएको उनको तितो अनुभव छ । ‘जब ओरेक नेपालले म जस्तै वैदेशिक रोजगारीबाट फर्केर आएका महिलाहरूलाई मनोपरामर्श सेवा दियो, त्यसपछि मात्र म सामान्य अवस्थामा फर्किए,’ लुईंटेलले तितो अनुभव सुनाइन् । उनी अहिले ओरेक नेपालको पहलमा बराहक्षेत्र–२ का वैदेशिक रोजगारीबाट फर्किर्एका महिलाहरूले खोलेको संस्था ऊर्जाशील महिला समूहकी अध्यक्ष हुन् । 

‘अबको समय भनेको ‘टिमवर्क’को हो’, सरस्वती भन्छिन्, ‘म जस्ता थुप्रै महिला दिदीबहिनी छन् जो केही त गर्नुपर्छ भन्ने सोच हुँदाहुँदै पनि इच्छाशक्ति मारेर बसेका छन् । 

उनीहरूका लागि हाम्रो संस्थामार्फत उदाहरणीय काम गर्न सकियोस् भनेर ऊर्जाशील महिला समूह गठन गरी काम सुरु गरेका छौं’, उनी भन्छिन् ‘अब यही संस्थामार्फत आफूजस्तै नेपालमै केही गर्न खोज्ने वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूलाई प्रेरणा जगाउने र पुनः एकीकरण गर्ने कार्यमा लागिपर्ने योजना छ ।’ 

‘लैड्गिक भुमिकालाई चुनौति दिंदै आमाबाबुको कर्तव्य पुरा गरे’
रिना विश्वकर्मा
कानेपोखरी–६, रमाइलो

मोरङको उर्लाबारीमा २०३८ सालमा जन्मिकी रिना विश्वकर्मा जब आमाको पेटमा आइन्, बुवाले अर्को विवाह गरे । त्यसैले उनको बाल्यकाल आमाबुवाको काखभन्दा हजुरबा–आमाको साथमा बित्यो । 

पढाइ लेखाइ खासै राम्रो नभएकाले १७ वर्षको कलिलो उमेरमै बिवाह भयो ।  बिवाह भएको ३ वर्ष राम्रै बित्यो । श्रीमान माओवादी थिए । माओवादी द्वन्द्वकालको समय भएकाले श्रीमानको घरमा बसाइ कम नै हुन थाल्यो । घर छाडेर भूमिगत भए पनि बेलाबेला जाने–आउने गरिरहन्थे । त्यो बीचमा रिनाले १ छोरा र १ छोरीलाई जन्म दिइसकेकी थिइन् ।
२०६३ सालको कुरा, संकटकालको समय थियो । छोरी ३ वर्षकी मात्र थिइन, त्यही समयमा उनका श्रीमान सहिद भए । सानै उमेरमा बिवाह गरेकी रिनालाई त्यस बेलासम्म जिम्मेवारी काँधमा आएको थिएन । 

ऐलानी जग्गामा घर थियो, त्यो पनि गयो । घरको कमजोर आर्थिक अवस्था र बृद्ध अवस्थाले छोप्दै गएका सासुससुरा र छोराछोरीको सम्पूर्ण जिम्मेवारी उनैको काँधमा आयो । त्यो जिम्मेवारी पूरा गर्ने एकमात्र गतिलो उपाय उनका लागि वैदेशिक रोजगारी देखियो । 

३ वर्षकी छोरीलाई माइतमा छोडी चिनजानकै दलालमार्फत घरेलु कामदारको लागि रिना कुवेत पुगिन् । ‘फ्रि भिसा फ्रि टिकट’ भनिए पनि २५ हजार दलाललाई तिर्नुपरेको ऋण तिर्न नै उनलाई लामो समय लाग्यो । 

घरमा सासुससुरालाई जिम्मा लगाएको छोरो र माइतमा छोडेको छोरीको खर्च आफ्नो जिम्मेवारीमा भएकाले पैसा बचत गर्न सम्भव थिएन । अलिकति जोगिएको पैसा बोकेर कहिल्यै नफर्कने सोचमा रिना कुवेतको २ वर्षे बसाई टुंग्याउँदै नेपाल फर्किन् । 

तर नेपाल फर्किएपछि उनले सोचेजस्तो वातावरण भएन । जसोतसो बस्नका लागि घर बनाए पनि हुर्कदै गरेका छोराछोरीको शिक्षादीक्षा र पालनपोषणका लागि आयआर्जनको बलियो माध्यम हुनु अत्यन्तै जरुरी थियो । त्यसैले बिना लगानी  नेपालमा बसेर गर्ने त्यस्तो कुनै काम नदेखिएपछि उनी पुनः पहिलेकै ठाउँमा फर्किइन् । त्यसपछि ८ वर्ष साउदी, दुबई, सिगांपुर गरी वैदेशिक रोजगारीमै उनको ऊर्जाशील १५ वर्ष बिते । 

वैदेशिक रोजगारीमा गएर उनले परिवारका लागि घर बनाइन्, केही जग्गा किनिन्, आफन्तलाई केही आर्थिक सहयोग पनि गरिन् । हाल उनीसँग सम्पत्तिको नाममा दुई तीन कठ्ठा जग्गा छ । छोरी माल्दिभ्समा अध्ययनरत छिन् भने छोरा सुकुना क्याम्पसमा आईटी विषय लिएर पढ्दैछन् । 

‘१५ वर्षसम्म मैले मेरा छोराछोरीलाई मातृवात्सल्य बाँड्न पाइनँ, आँखा अगाडि उनीहरू हुर्किदै गरेको हेर्न पाइनँ, खाने बस्ने टुंगो नहुँदा स्वास्थ्यमा अनेकौ समस्या आए, अहिलेसम्म पनि संर्घषकै जिन्दगी बित्दैछ ।’ रिना भन्छिन्, ‘कहिलेकाहीँ बाबुको कर्तब्य पूरा गर्दा आमाको मायाबाट छोराछोरीलाई वञ्चित गराएकोमा साह्रै पीडा हुन्छ ।’ 

उनी अहिले पनि राम्रो काम पाए पुनः वैदेशिक रोजगारीको लागि विदेशिने सोचमा छिन् । नेपालमा केही गर्न पाए हुन्थ्यो भन्ने त छ तर विशेष सीप केही छैन, बिना लगानी व्यवसाय कसरी गर्ने ? यस्तो बेला राज्यले पनि हामीजस्ता केही गर्न खोज्ने महिलाहरूका लागि केही व्यवस्था गरिदिए विदेशमा बेच्ने श्रम र सीप यही सदुपयोग हुने उनको धारणा छ ।

View : 785

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved