Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

तोडफोड र आगजनीमा संलग्नविरुद्ध धरानमा धमाधम उजुरी दर्ता

उद्‌घोष संवाददाता
३ असोज २०८२, शुक्रवार

विराटनगर । जेनजी समूहको उग्र प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध धरानमा धमाधम उजुरी दर्ता हुन थालेको छ । इलाका प्रहरी कार्यालय धरानले पीडितहरूको उजुरी दर्ता गर्न थालेको हो । 

भदौ २४ मा भएको तोडफोड, आगजनी र लुटपाटका घटना व्यक्ति केन्द्रित भएर गरिएको भन्दै आठ जना पीडितहरूले उजुरी दर्ता गरेका छन् । 

संलग्न व्यक्तिहरूको नामै किटान गरेर बिहीबार मात्रै सात जनाले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता गरेका छन् ।

जाहेरी दिनेहरूमा धरान उपमहानगरपालिकाकी निवर्तमान उपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, उनका पति एवं एमाले नेता मुरारी सुवेदी, पूर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश समितिका महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र तामाङ र निवर्तमान उपमेयर भण्डारीको घरमा भाडामा बस्ने सुनिता पोखरेलले जाहेरी दर्ता गरेका छन् ।

धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले समेत जेनजी आन्दोलनको नाममा तोडफोड, लुटपाट र आगजनीको घटनामा संलग्न १३ जना विरुद्ध प्रहरीमा जाहेरी दिइसकेका छन् ।

प्रहरीले किटानी जाहेरी परेका संलग्न व्यक्तिहरूको नाम भने अनुसन्धान प्रभावित हुने भन्दै सार्वजनिक गरेको छैन । तर प्रहरीले उक्त जाहेरीका आधारमा भने पाँच जनालाई नियन्त्रणमा लिइसकेको जनाइएको छ । 

प्रहरीले धरानस्थित कञ्चनजंघा होटेलमा आक्रमण, तोडफोड, आगजनी र लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

इप्रका धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले अन्यत्र भएका घटना राजनीतिक जस्तो देखिएपनि  धरानमा भने व्यक्ति केन्द्रित गरेर तोडफोड र आगजनी भएको देखिएकाले प्रहरीले फरक घटनाका रुपमा अनुसन्धान सुरु गरेको बताए । उनले अनुसन्धान गरी संलग्नमाथि कारवाही गरिने जानकारी दिए ।

दलका नेता केन्द्रित भएर तोडफोड, आगजनी र लुटपाट भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताहरू दुई दिनयता इलाका प्रहरी कार्यालय पुगेका थिए । 

उनीहरूले धरानका वर्तमान मेयर हर्क साम्पाङ निकट व्यक्तिहरू तोडफोडमा संलग्न रहेको आरोप लगाएका छन् ।

कांग्रेस कोशीका महामन्त्री थापाले अराजकता नियन्त्रण गर्न दोषीलाई कारवाही गर्नुपर्ने बताए । 

उनले नगर प्रमुखले आपराधिक कार्य गर्नेहरूलाई कारवाही गर्नुको साटो बचाउमा लागेको आरोप लगाए । उल्टै मेयर साम्पाङले धाकधम्की दिएको बताए ।

थापाले आफ्नो घरमा भएको तोडफोड र लुटपाटमा संलग्नहरूको पहिचान गरी तस्वीर र भिडियोसमेत प्रहरीमा बुझाएको जानकारी दिए ।

View : 410

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved