विराटनगर । मोरङको कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष र उपाध्यक्षले बहालमा रहदा विभिन्न शीर्षकमा खर्च गरेको रकम बेरुजु देखिएको छ । उनीहरूले खर्च गरेको बेरुजु रकम गाउँपालिकाले असुल–उपर गर्ने निर्णय गरेको छ ।
कटहरीको दोस्रो गाउँसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बिहीबार पूर्वअध्यक्ष रामकुमार कामत र पूर्वउपाध्यक्ष मञ्जिताकुमारी सरदारका नाममा रहेको बेरुजु उनीहरूबाटै तिराउने निर्णय भएको हो ।
उनीहरूकै कार्यकालमा प्रमुख प्रशासकीय अधिकृतले कोठा भाडामा लिएर बसेको रकम पनि बेरुजु देखिएको छ । कामत अध्यक्ष हुँदा ठेकेदारले समेत पालिकाबाट फिर्ता नहुने रकम लगेको गाउँसभाले ठहर गरेको छ ।
पालिका अध्यक्ष देवराज चौधरीका अनुसार तत्कालीन अध्यक्ष कामतले आर्थिक वर्ष २०७५/०७६ मा भ्रमण आदेश अनुमोदन नगराई १४ हजार २ सय रुपैयाँ चलाएकाले सो रकम बेरुजु देखिएको छ । कामतबाट उक्त रकम असुल गरी दाखिला गरिने गाउँसभाले निर्णय गरेको छ । पूर्वउपाध्यक्ष सरदारले सोही आर्थिक वर्षमा ८ हजार ५ सय ५० रुपैयाँ लिएको बेरुजु पाइएको छ ।
सरदारले काठमाडौं जाँदाको जहाजको टिकट पेश गरे पनि बोर्डिङ पास पालिकामा पेश नगरेकाले बेरुजु पाइएको हो । गाउँसभाका तीन अधिवेशन सकिएर चौथो अधिवेशन चलेपछिको पहिलो बैठकमा भने जनप्रतिनिधिले पूर्वजनप्रतिनिधिले खर्च गरेको रकम असुल गर्न बैठकलाई दवाब दिएका थिए । यस्तै तत्कालीन अध्यक्ष कामतले लिएको भ्रमण खर्च पनि बेरुजु देखिएको छ ।
कामतले २०७६ वैशाख १६ मा भ्रमण खर्चवापत १७ हजार ६ सय ५० रुपैयाँ लिएकोमा जहाजको बोर्डिङ पास नभएकाले ८ हजार ८ सय ५० रुपैयाँ बेरुजुमा राखिएको छ ।
पालिकाको बेरुजु प्रक्रियाले मिलान गर्ने बताउँदै पूर्वअध्यक्ष कामतले पालिकामा ब्यक्तिगत बेरुजु देखिएको भए तिर्न तयार रहेको बताएका छन् । उनले फालिकामा देखिएको बेरुजु मिलान हुने क्रममा ब्यत्तिगत पाइए तिर्ने जानकारी दिंदै नैतिक भ्रष्टाचारका विषयमा सबै सचेत हुनुपर्ने सुझाव दिए ।
गाउँपालिकाले कामतको कार्यकालमा ठेकेदारलाई गैरकानुनी रकम फिर्ता गरेको पनि जनाएको छ । सभाले ठेक्काको विषयमा अदालतमा मुद्दा चलिरहेको बेला रणकाली निर्माण सेवालाई रकम फिर्ता दिएको जनाएको छ ।
सो रकम पनि निर्माण व्यवसायीबाट असुल गरिने सभाले निर्णय गरेको छ । अघिल्लो कार्यपालिकाले गरेका बेरुजुमा ९५ प्रतिशत फछर्योट गरिएको अध्यक्ष चौधरीले बताए ।
View : 206
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved