चरा अध्ययन अवलोकनमा सहभागीहरु । तस्वीर : उद्घोष
कोशीटप्पु । चराको राजधानी मानिने कोशीटप्पुमा अन्य देशबाट बसाई सरेर आउने चराको अवस्था हिउद महिनामा मात्रै बुझ्ने गरिन्थ्यो । यस वर्ष भनें वर्षायाममा पनि चराको अवस्था अध्ययन गरिएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासको सिमसार क्षेत्रमा चराको बासस्थान र स्वास्थ्य अवस्थाबारे कोशी पंक्षी समाजले अध्ययन अवलोकन गर्दैछ ।
शुक्रबारबाट सुरु भएको अध्ययन अवलोकन १० दिन चल्ने समाजले जनाएको छ । बराहक्षेत्रको चतराबाट डुङ्गाबाट सुरु गरिएको अध्ययन टोलीमा चराविज्ञसहित चरा पहिचान गर्नेहरु खटिएका छन् ।
कोशी प्रदेश पर्यटन मन्त्रालय र पर्यटन कार्यालय सुनसरीको सहयोगमा गरिएको अध्ययनले कोशीटप्पु र आसपासको क्षेत्रमा रहेका जलपंक्षी तथा रैथाने चराको अवस्था पहिल्याउने बताइएको छ ।
पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले चरा प्रजाति र उनीहरुको बासस्थानको अवस्था पनि अध्ययनले प्रतिवेदन मार्फत सार्वजनिक गर्ने बताए ।
उनका अनुसार अध्ययनपछि चरा संरक्षणमा स्थानीयलाई जागरुक गराईनेछ । हिउंद महिनामा युरोपबाट सगरमाथाको उचाई भन्दा माथिबाट उडेर आउने खोया हांसको संख्या वढ्दो क्रममा रहेको छ ।
साईबेरियादेखि आउने जलपंक्षीको कोशीटप्पुको बासस्थान असुरक्षित हुदै गएकाले यस क्षेत्रमा चराको प्रजाति केही घट्ने क्रममा रहेको चराविद् अनिश तिम्सिनाले बताए ।
सुनसरी, उदयपुर र सप्तरी जिल्लाले छुने कोशीटप्पुमा ३८ वर्षदेखि जाडोयाममा जलपंक्षी गणना हुने गरेको छ । यसवर्षदेखि वर्षायाममा पनि चराको अवस्था अध्ययन गरिने पंक्षी समाजले जनाएको छ ।
विश्वमा पाईने चरा मध्ये नेपालमा ८ सय ९२ प्रजातिका पाईन्छन भनें कोशी टप्पुमा मात्रै ५ सय ३५ प्रजातिका पाइन्छन् ।
कोशीटप्पुमा जलपंक्षी चराको संख्या भनें वर्षेनी घट्दो क्रममा छ । कोशीटप्पुमा चरा अध्ययनका लागि विश्वका बिभिन्न देशका मानिसहरु आउने गरेका छन् । कोशीटप्पु कोशी प्रदेशको पर्यटकीय क्षेत्रमा प्रमुख गन्तब्य मध्येमा पर्छ ।
चरा संरक्षणमा सरकारको चासो पुग्न नसकेको स्थानीय बताउँछन् । जसका कारण स्थानीय रैथाने जलपंक्षी पनि कम हुँदै गएको छ ।
आन्तरिक पर्यटकपनि कोशीमा हिउँद महिनामा चरा अवलोकन र नदीमा सयर गर्ने जाने गरेका छन् ।
कोशीटप्पुमा चरा अवलोकनमा हरेक वर्ष चासो दिंदै आएका विराटनगरस्थित कान्तिपुर इन्जिनीयरिङका संचालक प्रेम बस्नेत सरकारले चराको बासस्थानबारे समयमै चासो नदिने हो भनें चराको राजधानी भनिने टप्पुमा पर्यटक पनि घट्दै जाने बताउँछन् ।
चराकै कारण विश्वमा नाम चलेको कोशीटप्पुको चराको बासस्थानमा मानिसको अनावश्यक चहलपहल रोक्न तीनै तहको सरकारले चासो नदिएको पंक्षी समाजका अध्यक्ष तिम्सिनाको भनाई छ ।
उनका अनुसार युरोपदेखि उडेर जाडो छल्न आउने चराका कतिपय प्रजातिले बच्चा कोरलेर लैजान्छन् । बच्चा हुर्काएर फर्कने क्रममा अवरोध भएन भने ति बच्चा हुर्किएपछि पुनः त्यही ठाउँमा आउनेछन् ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved