Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सामुदायिक बनभित्र छाला काडेर मारिएको अजिंगर फेला

अजिंगरले बाख्रा खाइदिएको कुरा गोठालाहरुले भन्ने गरेपछि दहीझोडा सामुदायिक वनले यसै वर्षदेखि बनाउँदै थियो अजिंगर संरक्षणको योजना
उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

दहीझोडा सामुदायिक वनमा छाला काडेर मारिएको अवस्थामा फेला पारिएको अजिंगर । तस्वीर: मुख्यमन्त्री कार्कीको सचिवालय

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका– ४ स्थित दहीझोडा सामुदायिक बनभित्र छाला काडेर मारिएको अजिंगर फेला परेको छ । तस्करको समुहले अजिंगर मारेको अनुमान गरिएको हो ।

सामुदायिक वनले यसै वर्षदेखि सामुदायिक बनभित्र अजिंगर रहेको जानकारीका आधारमा त्यसको संरक्षण गर्ने योजना बनाउँदै गर्दा छाला काडेर लगेर जङ्गलको पोथ्रामा झुण्डिएको अवस्थामा अजिंगर फेला परेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित सहभागी भएको हात्ती प्रभावित क्षेत्रको पदयात्रा टोलीले बिहीबार पदयात्राकै क्रममा जङ्गलमा अजिंगर मारेको अवस्थामा फेला पारेको हो । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार देवनारायण साहका अनुसार जङ्गलमा पदयात्राका क्रममा केही गन्हाएपछि नजिकै गएर हेर्दा छाला काडेर मारिएको अजिंगर भेटाएको जानकारी दिए ।

दहीझोडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकनाथ अधिकारीले यसै वर्षदेखि सामुदायिक वनले अजिंगर र सर्प संरक्षणको कार्यक्रम सुरु गरेको बताए । उनले जङ्गलमा बाख्रा चराउन जाने गोठालाहरूले अजिंगरले बाख्रा खाएको कुरा गर्ने गरेको सुनाए । 

२०५२ साल भदौ ५ गतेदेखि समुदायमा हस्तान्तरण भएको ७४६ हेक्टर क्षेत्रफल रहेको उक्त सामुदायिक वनमा गाउँघरमा फेला परेका सर्प समेत लगेर छाड्ने गरिएको उनले बताए । 

‘हामीले यसपालिदेखि अजिंगर र सर्प संरक्षण गर्ने योजना बनाएका थियौं, जङ्गलमा बाख्रा खायो भन्ने गरेका थिए, अजिंगर पनि प्रकृतिको देन भएकोले त्यसको संरक्षण गर्ने कुरा अघि बढेको थियो’ अध्यक्ष अधिकारीले भने, ‘सर्प अजिंगर जोगाउनकै लागि गाउँमा फेला परेका सर्पलाई समेत जङ्गलमा लगेर छाड्ने गरिएको थियो ।’

अध्यक्ष अधिकारीले आफू दुर्घटनामा परेर केहिदिनदेखि घरैमा रहेकोले जङ्गलमा अजिंगर मारिएको जानकारी भने नपाएको बताए ।

View : 1436

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved