Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बेलडाँगीबाट अमेरिकन पेस्तोलसहित दुई पक्राउ

प्रहरीले बरामद गरेको पेस्तोल र अन्य सामग्रीको प्रकृति, स्रोत र प्रयोगको उद्देश्यबारे थप विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।  हेण्डसेटसमेत बरामद भएकाले आपराधिक गतिविधिसँग सम्भावित सम्बन्धबारे पनि अनुसन्धान जारी रहेको प्रनाउ चौधरीले बताए ।
उद्‌घोष संवाददाता
२८ माघ २०८२, बुधवार

विराटनगर । अमेरिकामा बनेको आधुनिक पेस्तोलसहित मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

सुन्दरहरैंचा नगरपालिका–२ बेलडाँगीबाट मेड इन यूएसए लेखिएको पेस्तोलसहित ओकेटोके हेण्डसेट र एकथान भरुवा बन्दुकसहित २८ वर्षीय सिलास लिम्बू र २९ वर्षीय प्रेमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

उनीहरूको घरमा तलासी लिने क्रममा हातहतियारसहित सोमबार बेलुका पक्राउ गरेको जनाइएको छ । लिम्बू सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीकै हुन् भने गुरुङ सुन्दरहरैचा–३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लिम्बूको घरमा हातहतियार लुकाई राखिएको भन्ने सूचना पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले लिम्बूको घरमा पुगेर कोठाभित्र तलासी लिने क्रममा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल, बोयफेङ कम्पनीको दुई थान हेण्डसेट र भरुवा बन्दुक जस्तो देखिने काठको हतियार एक थान फेला पारेको जनाइएको छ ।

प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिएर सोधखोज गर्ने क्रममा गुरुङसँग ती हातहतियार लिएको बताएका थिए । सोही आधारमा प्रहरीले गुरुङको खोजतलास गर्ने क्रममा उनलाई पनि घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीले बरामद गरेको पेस्तोल र अन्य सामग्रीको प्रकृति, स्रोत र प्रयोगको उद्देश्यबारे थप विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । 

हेण्डसेटसमेत बरामद भएकाले आपराधिक गतिविधिसँग सम्भावित सम्बन्धबारे पनि अनुसन्धान जारी रहेको प्रनाउ चौधरीले बताए ।

उनले बरामद हतियारको प्राविधिक परीक्षण, स्वामित्व र वैधता बारेसमेत छानबिन गरी घटनाबारे थप तथ्य खुलाउने काम भइरहेको बताए ।

प्रहरीले हातहतियार जस्ता संवेदनशील सामग्री घरमा लुकाई राख्ने गतिविधि कानुनविपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधिबारे सूचना भए नजिकको प्रहरी निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिसकेको छ ।

View : 164

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved