विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–४ नेमुवा स्थित पूर्व सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा लरी पल्टिएर ज्यान गुमाएका तीन बालबालिकाको पोष्टमार्टम आइतबारपनि हुन सकेको छैन ।
स्थानीयले उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव नबुझ्ने बताएपछि पोष्टमार्टम हुन नसकेको हो । प्रहरीले मृतकका आफन्त र गाडीधनी तथा सामान धनीसँग सहमति गराउने प्रयास गर्दै आएको छ । शुक्रबार बिहान आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिएर तीन बालबालिकाको ज्यान लिएको थियो ।
प्रहरीले दुबै पक्षलाई राखेर सहमतिको प्रयास गरेको थियो । क्षतिपूर्ति दिने बारे सहमतिको प्रयास जारी रहेको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । नेमुवामा रहेको अन्नपूर्ण मार्वल उद्योगका लागि ढुङ्गा वैश्णो ग्रेनाइट कम्पनीले आयात गरेको थियो ।
ग्राभेल गर्न थुपारिएको गिट्टी छल्ने क्रममा दुर्घटना हुँंदा ज्योति अधिकारीका ५ वर्षीय छोराछोरीद्वय निशान र इशिता तथा छिमेकी बालिका ७ वर्षीया रिया खवासको मृत्यु भएको थियो । घाइते अधिकारीको उपचार भैरहेको छ । शनिबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले घाइतेलाई भेटेर उपचार र क्षतिपूर्तिमा सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।
View : 400
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved