Biratnagar, Morang, Nepal
९ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

एनपीएल तेस्रो संस्करण आजदेखि

विश्व क्रिकेटका स्टारको साथले उपाधिमा विराटनगरको आँखा

उद्‌घोष संवाददाता
९ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । 

मंसिर ५ गते शनिबारसम्म चल्ने प्रतियोगितामा आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । कोशी प्रदेशको टिम विराटनगर किंग्सले मंगलबार चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

विराटनगरले यसपटक विश्व क्रिकेटका केही ठूला खेलाडीलाई समेट्दै खेल टोली तयार पारेको छ । 

विश्व क्रिकेटमा  आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल, श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथुज र नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने विराटनगरका सबैभन्दा ठूला नाम हुनेछन् । एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सको टोलीमा यी तीन खेलाडी मुख्य आकर्षणका रूपमा रहनेछन् । 

विराटनगरले यसपटक विदेशी खेलाडीमा रसेल, म्याथुज, चरिथ असलंक, शुभम रञ्जने र शेहान जयसूर्यालाई समेटेको छ । नेपाली खेलाडीमा सन्दीप लामिछाने, लोकेश बम, वासिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुभाष भण्डारीलगायत छन् ।

विदेशी खेलाडीको अन्तर्राष्ट्रिय अनुभव र नेपाली खेलाडीको क्षमतालाई संयोजन गर्दै विराटनगरले यसपटक उपाधि प्रतिस्पर्धामा आफूलाई बलियो रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको टोलीका मुख्य लगानीकर्ता मध्येका एक पारस लुनियाले जानकारी दिए । 

‘अनुभवी स्वदेशी र विदेशी खेलाडीहरुको संयोजनले टोली एकदमै बलियो र सन्तुलित बनेको छ’ लुनियाले भने ‘हामी यसपटक उपाधिका लागि प्रतिष्पर्धा गर्नेछौं ।’ 

विराटनगर किंग्सले वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेपछि तेस्रो संस्करणको एनपीएलमा टोलीप्रति चासो बढेको छ । रसेल टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । 

उनले विश्वका विभिन्न फ्रेञ्चाइज प्रतियोगितामा खेलेका छन् । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्दा उनी टोलीका प्रमुख सदस्य थिए ।

रसेलले ६११ टी–२० खेलमा ९ हजार ९ सय ३३ रन बनाउनुका साथै ५३९ विकेट लिएका छन् । उनको ब्याटिङ स्ट्राइक रेट १६६ भन्दा माथि छ । 

उनी तीव्र गतिमा रन बनाउन, छक्का प्रहार गर्न र आवश्यक पर्दा बलिङबाट विकेट लिन सक्ने खेलाडी हुन् । 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट खेल्दा रसेलले आक्रामक ब्याटिङका कारण छुट्टै पहिचान बनाएका थिए । 

कोलकाताले सन् २०१४ र २०२४ मा आईपीएल उपाधि जित्दा उनी टोलीका सदस्य थिए । वेस्ट इन्डिजका लागि उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । उनले सन् २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास  लिएका थिए ।

विराटनगरका लागि रसेलको महत्व ब्याटिङमा मात्रै सीमित हुने छैन । टी–२० क्रिकेटमा अन्तिम ओभरमा रन बनाउन सक्ने खेलाडीको भूमिका निर्णायक हुन्छ । 

रसेलले ब्याटिङको अन्तिम चरणमा आक्रामक खेल प्रदर्शन गर्न सक्छन् । बलिङमा पनि उनको अनुभव विराटनगरका लागि उपयोगी हुनेछ । 

श्रीलंकाका पूर्वकप्तान एञ्जेलो म्याथुज विराटनगरका अर्का अनुभवी विदेशी खेलाडी हुन् । उनले श्रीलंकाको राष्ट्रिय टोलीबाट तीनवटै अन्तर्राष्ट्रिय प्रारूप टेस्ट, एक दिवसीय र टी–२० मा कप्तानी गरेका छन् । 

सन् २०१४ मा श्रीलंकाले टी–२० विश्वकप जित्दा उनी टोलीका सदस्य थिए । म्याथुज दायाँहाते ब्याटर र अलराउन्डर हुन् । उनले ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ४१६ रन बनाएका छन् भने ४५ विकेट लिएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ५ हजार ९१६ रन बनाउनुका साथै १२६ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा पनि उनको लामो अनुभव छ ।

विराटनगरले श्रीलंकाका चरिथ असलंकलाई पनि विदेशी खेलाडीका रूपमा राखेको छ । 

असलंक श्रीलंकाली राष्ट्रिय टोलीको कप्तानी गरिसकेका ब्याटर हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् । 

विराटनगरको ब्याटिङमा रसेल र म्याथुजसँगै असलंकको भूमिका पनि महत्त्वपूर्ण हुनेछ । असलंकले सन् २०२१ को टी–२० विश्वकपमा श्रीलंकाका लागि प्रभावशाली प्रदर्शन गरेका थिए । त्यसपछि उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि आफ्नो पहिचान बनाएका छन् । 

विराटनगरका लागि उनी मध्यक्रममा ब्याटिङलाई सम्हाल्ने र आवश्यकताअनुसार रनको गति बढाउने विकल्प हुन सक्छन् । 

अमेरिकाका अलराउन्डर शुभम रञ्जने विराटनगरका लागि परिचित खेलाडी हुन् । उनी अघिल्लो संस्करणमा पनि यही टोलीबाट खेलेका थिए । 

ब्याटिङ र बलिङ दुवै गर्न सक्ने रञ्जनेले गत संस्करणमा चार खेलमा ८७ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । श्रीलंकाली मूलका अमेरिकी ब्याटर शेहान जयसूर्या पनि विराटनगरका विदेशी खेलाडीमध्ये एक हुन् । 

उनले श्रीलंकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेपछि अमेरिकी क्रिकेटमा आफ्नो करिअर अघि बढाएका हुन् । विराटनगरले पाँच विदेशी खेलाडीको समूहमा उनलाई पनि समेटेको छ ।

विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्ने छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लेग स्पिन बलिङका लागि परिचित छन् । उनी अन्तर्राष्ट्रिय फ्रेञ्चाइज क्रिकेटमा पनि अनुभव बटुलेका खेलाडी हुन् । 

एनपीएलका अघिल्ला संस्करणमा उनको प्रदर्शन विराटनगरका लागि महत्वपूर्ण रहँदै आएको छ ।

सन्दीपको कप्तानीमा विराटनगरले नेपाली खेलाडीको मुख्य समूहलाई निरन्तरता दिएको छ । 

विकेटकिपर–ब्याटर लोकेश बम, अलराउन्डर बासिर अहमद र नारायण जोशी, बलर प्रतिश जिसी तथा सुभाष भण्डारी टोलीमा छन् । यसका अतिरिक्त सुजन थपलिया, अपराजित पौडेल, प्रतीक श्रेष्ठ, रुपेशकुमार सिंह, नरेन साउद, दिलसाद अली, इमरान शेख र आयुष न्यौपाने पनि टोलीमा छन् । 

पहिलो संस्करणबाट प्लेअफसम्म

एनपीएलको पहिलो संस्करण सन् २०२४ मा भएको थियो । विराटनगर किंग्सले त्यस संस्करणमा अपेक्षित प्रदर्शन गर्न सकेन र लिग चरणबाटै बाहिरियो । दोस्रो संस्करणमा भने टोलीले सुधार गर्दै प्लेअफमा स्थान बनायो । 

दोस्रो संस्करणको प्लेअफमा विराटनगरले क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पराजित भएपछि टोलीले क्वालिफायर–२ मा लुम्बिनी लायन्ससँग खेल्ने अवसर पायो । तर त्यहाँ पनि पराजित भएपछि विराटनगरको उपाधि यात्रा टुंगिएको थियो ।

एनपीएलको तेस्रो संस्करणमा विराटनगर मात्रै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी भएको टोली होइन । 

काठमाडौं गोर्खाजले अस्ट्रेलियाका पूर्वओपनर डेभिड वार्नरलाई अनुबन्ध गरेको छ । वार्नरले अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा टोलीबाट खेलेका थिए । 

सन् २०२१ को टी–२० विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए ।

पोखरा एभेन्जर्समा बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन छन् । उनी ब्याटिङ र स्पिन बलिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन् । 

पोखराले बंगलादेशका महेदी हसन, मोहम्मद सैफुद्दिन र श्रीलंकाका धनञ्जय लक्षण तथा चमिका करुणारत्नेलाई पनि टोलीमा समेटेको छ । जनकपुर बोल्ट्समा इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसम छन् । 

दुवै विश्व चर्चित अलराउन्डर हुन् । जनकपुरले पाकिस्तानका इफ्तिखार अहमद र अमेरिकाका हरमीत सिंहलाई पनि अनुबन्ध गरेको छ । 

त्यस्तै कर्णाली याक्सले दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर र पाकिस्तानका साहिबजादा फरहान तथा हुसेन तलतलाई टोलीमा समेटेको छ । 

चितवन राइनोजमा जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजा, इंग्ल्यान्डका रवि बोपारा र पाकिस्तानका लेग स्पिनर उसामा मिर छन् । 

चितवनले क्यानडाका तीव्र गतिका बलर कलीम साना र श्रीलंकाका चमिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ ।

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्ड, न्युजिल्यान्डका स्कट कुगेलेइन, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्ल्यान्डका सेफ जेब छन् । 

साविक विजेता लुम्बिनी लायन्सले अमेरिकाका अलराउन्डर शेड्ली भान शाल्कविक, श्रीलंकाका निरोशन डिकवेला र दक्षिण अफ्रिकामा जन्मिएका नामिबियाली बलर रुबेन ट्रम्पलम्यानलाई टोलीमा समेटेको छ ।

एनपीएलको तेस्रो संस्करणको अर्को महत्वपूर्ण विशेषता  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता हो । यसअघि पहिलो र दोस्रो संस्करणका खेल आधिकारिक टी–२० करिअरको तथ्यांकमा समावेश हुँदैनथे । 

तेस्रो संस्करणका खेल भने आधिकारिक तथ्यांकमा गणना हुनेछन् । प्रतियोगितामा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) पनि प्रयोग गरिनेछ । आईसीसीको मान्यतासँगै प्रतियोगिताको खेल सञ्चालन र अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी पक्षले थप महत्व पाएको छ । 

प्रत्येक टोलीले आठ जनासम्म विदेशी खेलाडी दर्ता गर्न पाउने भए पनि मैदानमा एकैपटक चार विदेशी खेलाडी मात्रै खेलाउन पाइनेछ । यसअनुसार खेल्ने ११ जनामध्ये कम्तीमा सात जना नेपाली खेलाडी हुनेछन् । 

प्रतियोगितामा आठ टोलीले लिग चरणमा एकअर्कासँग एक–एक खेल खेल्नेछन् । प्रत्येक टोलीले सात खेल खेलेपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो र दोस्रो स्थानमा रहने टोलीले क्वालिफायर–१ खेल्नेछन् । 

तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ । त्यसपछि क्वालिफायर–२ हुँदै फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यस्तो छ विराटनगरको खेल तालिका

विराटनगर किंग्सले कात्तिक १० गते मंगलबार चितवन राइनोजसँग पहिलो खेल खेल्नेछ ।

त्यसपछि कात्तिक १२ गते बिहीबार कर्णाली याक्ससँग, कात्तिक १४ गते शनिबार सुदूरपश्चिम रोयल्ससँग र कात्तिक १७ गते मंगलबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । 

विराटनगरले कात्तिक १९ गते बिहीबार काठमाडौं गोर्खाजसँग खेल्नेछ । 

त्यसपछि कात्तिक २६ गते बिहीबार पोखरा एभेन्जर्स र कात्तिक २८ गते शनिबार लुम्बिनी लायन्ससँग लिग चरणका खेल खेल्ने तालिका छ । 

सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

एनपीएलको तेस्रो सिजनको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । 

नेपाल क्रिकेट संघ क्यानले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।

यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए । 

यसपटक दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८० लाख, ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved