विराटनगर । विराटनगरबाट फुटबल करिअर सुरु गरेका मनिष तिम्सिनाको सफलता भारतीय खेल मैदानमा निरन्तर फैलिँदो छ । पछिल्लो समय कहलिएका गोलकिपर प्रशिक्षकमा दरिएका उनी यसपटक भारतकै सबैभन्दा ठूलो फुटबल प्रतिष्पर्धामा पन्जाब टिमको गोलकिपर प्रशिक्षक बनेका छन् ।
उनी इन्डियन सुपर लिग (आईएसएस) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका हुन् ।
पन्जाबले आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका रुपमा आबद्ध भएको जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले गत सिजनसम्म पन्जाबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
यसअघि प्रशिक्षक तिम्सिना इन्डियन आइ लिग गोकुलम केरला एफसीमा थिए ।
एएफसी ए लाइन्स प्राप्त ३७ वर्षीय तिम्सिना सन् २०२१–२२ को सिजनका लागि केरलामा आबद्ध हुँदै आइ लिग टोलीमा प्रशिक्षक बन्ने पहिलो नेपाली बनेका थिए । उनी ३ सिजन केरलामा रहेका थिए ।
पछिल्लो छ महिना भने उनी नेपाली राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकका रुपमा रहेका थिए । आइएसएल टोलीमा गोलकिपर प्रशिक्षक बन्ने पनि तिम्सिना पहिलो नेपाली बनेका छन् ।
‘‘एक दशकदेखिको प्रशिक्षण, आइ लिग र राष्ट्रिय टोलीको अनुभवका कारण मैले अर्को मौकाका रुपमा आइएसएल टोलीमा आबद्ध भएको छु, तिम्सिनाले भने,’ यो मेरो लागि अवसर त हो नै । त्योसँगै आफूलाई थप प्रमाणित गर्ने चुनौती पनि हो ।’
एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा लामो समय काम गरेका तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भु, ब्रिगेड ब्वाइजबाट खेलिसकेका छन् ।
पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका तिम्सिना एक दशक यता प्रशिक्षणमा सामेल छन् । विराटनगरका स्थायी बासिन्दा उनले साफ यू १५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
View : 672
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved