Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

किसानलाई बलियो आड दिंदै आरजू मिल

धानको बीउ छर्नु अगावै आरजू राइस मिलले आफ्नो समर्थन मूल्य सार्वजनिक गरिसकेको थियो भने सरकारले केही हप्ता अघि मात्रै यस्तो मूल्य तोकेको हो ।
उद्‌घोष संवाददाता
१२ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङको बेलबारी–९, डाँगीहाटमा सञ्चालित आरजू राइस मिलले चैते धानको न्यूनतम खरिद मूल्य (समर्थन मूल्य) परिमार्जन गर्दै प्रतिकिलो २८ रुपैयाँ ९७ पैसा कायम गरेको छ । 

यसअघि गत पुस २२ गते मिलले हल्दिनाथ ६ प्रजातिको चैते धानको मूल्य चिस्यानको आधारमा प्रतिकेजी २५ देखि २७ रुपैयाँसम्म निर्धारण गरेको थियो । 

हालै सरकारले चैते धानको सरकारी दर (रेट) प्रतिकिलो २८ रुपैयाँ ५८ पैसा तोकेपछि मिलले दोस्रो पटक मूल्य बढाएर नयाँ दर कायम गरेको हो । यो मूल्य सरकारी रेट भन्दा ३९ पैसा बढी हो । 

धानको बीउ छर्नु अगावै आरजू राइस मिलले आफ्नो समर्थन मूल्य सार्वजनिक गरिसकेको थियो भने सरकारले केही हप्ता अघि मात्रै यस्तो मूल्य तोकेको हो । 

बजारको उतारचढाव हेरेर समर्थन मूल्यमा थपघट हुन सक्ने जानकारी मिलले किसानहरूलाई पहिले नै गराउँदै आएको थियो । 

सरकारले २५ प्रतिशत चिस्यान भएको धानको मूल्य २८ रुपैयाँ ५८ पैसा निर्धारण गरे पनि बजारमा त्यो मूल्य दिलाउने संयन्त्र नहुँदा कृषकहरू अलमलमा परेका छन् । 

यसबारे असन्तुष्टि पोख्दै किसान युवराज न्यौपानेले भने ‘अहिले गोलाहरूमा किसानको धानको मूल्य १७ रुपैयाँ छ । सरकारले तोकेको मूल्यमा हाम्रो धान कसले किनिदिने हो थाहा छैन तर काँटा र गोलामा भने हाम्रो धानको मूल्य साहूले १७ रुपैयाँ तोकिदिएका छन् ।’ 

त्यसैगरी, बेलबारी–६ का अर्का कृषक पुष्कर शर्मा पनि सरकारको नीतिप्रति सन्तुष्ट छैनन् । 

सरकारी दरमै धान खरिद गर्ने निकायबारे राज्य आफैं स्पष्ट नभएको उनको बुझाइ छ । 

उचित बजार नपाउँदा सस्तोमै धान बेच्नु परेको गुनासो गर्दै शर्माले भने ‘कि त सरकारले समर्थन मूल्य घोषणा गरेर धान किनिदिनु प¥यो, कि त किन्ने ठाउँ देखाइदिनु पर्यो ।’ 

उनका अनुसार सरकारले केवल सस्तो लोकप्रियताका लागि मात्र मूल्य तोक्ने गरेको र किसानहरू भने निर्धारित मूल्यको आधा दाममा धान बेच्न बाध्य भइरहेका छन् । 

रंगेलीका किसान कर्णबहादुर थापाको अनुभव पनि उस्तै छ । सरकारले तोकेको भाउ कागजमै सीमित भएको र व्यवहारमा किसानले सही मूल्य नपाएको उनी बताउँछन् । 

स्थानीय व्यापारी र गोलाहरूले मनोमानी ढंगले तोकेकै मूल्यमा उत्पादन बेच्नु परेको उल्लेख गर्दै थापाले भने ‘सरकारले ती काँटा र गोलावालाहरुलाई अनुगमन गर्नु पर्छ, त्यसो नगरे सरकारको एउटा भाउ र किसानले पाउने अर्काे भाउ हुन्छ ।’ 

आरजू राइस मिलले किसानको सल्लाह र हित अनुसार नै काम गरिरहेको उद्योगका महाप्रबन्धक विवेकानन्द झाले स्पष्ट पारेका छन् । 

उनका अनुसार मिलले हाल २५ सय बिघा क्षेत्रफलमा आबद्ध २५ सय जना किसानको धान खरिद गर्दै आएको छ । 

मिललाई वार्षिक रूपमा वर्षे धान १५ हजार टन र चैते धान १० हजार टन आवश्यक पर्ने झाले जानकारी दिए । 

यो उद्योगले कृषकहरूलाई आवश्यक पर्ने धानको बीउ र अत्याधुनिक कृषि औजार प्रयोगमा समेत सहयोग पु¥याउँदै आएको छ । 

किसान समूहहरूमार्फत धान रोप्नेदेखि कटानी गर्नेसम्मका मेसिनरी सामग्रीहरू मिलले सहुलियत दरमा उपलब्ध गराउने गरेको छ ।

उद्योगका कम्युनिकेसन अधिकृत दीपेन्द्र कर्णका अनुसार मिलले आफ्ना आबद्ध किसानहरूको सबै तथ्याङ्क कम्प्युटर सफ्टवेयरमा सुरक्षित राखेको छ । 

यसले गर्दा कुन किसानले कति वर्ष पहिले कति परिमाणमा धान बेचेका थिए र मिलबाट कुन बीउ लगेका थिए भन्ने स्पष्ट विवरण हेर्न सकिन्छ । 

यो प्रणालीले किसानहरूलाई आफ्नो उत्पादनको मूल्य तुलना गर्न र कारोबार पारदर्शी बनाउन सजिलो भएको कर्णले बताए ।

यसैगरी, सरकारले २५ प्रतिशत चिस्यान भएको धानको मात्र समर्थन मूल्य तोकेको भए तापनि हाल बजारमा आउने धानमा १८ देखि २२ प्रतिशत मात्र चिस्यान रहने गरेको छ । 

मिलले सोही कम चिस्यानको अनुपात अनुसार किसानलाई थप उचित मूल्य प्रदान गरिरहेको जानकारी समेत कर्णले दिएका छन् ।

View : 93

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved