चुनावी अभियानमा नृत्य गर्दै गंगा जमुना । तस्वीरः कमल/उद्घोष
विराटनगर । जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना तामाङ यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा विशेष चर्चामा छन् ।
घरमा श्रीमान र छोराछोरी नै झुक्किने दुई दिदी बहिनीका कारण चुनाव प्रचार पनि चर्चित हुँदै गएको छ । विराटनगर–४,जामुनगाछी निवासी यी ४१ वर्षीया दिदीबहिनीलाई छुट्याउन गाह्रो पर्छ ।
एउटै रंग र डिजाइनको पहिरनमा हिंड्ने, एकै किसिमको भेषभूषा, उस्तै बोलीचाली, समान हाउभाउ र मुस्कानका कारण उनीहरु जहाँ पुग्छन्, त्यहाँ कौतुहल र आकर्षण स्वतः बढ्छ ।
नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई जिताउने अभियानमा हिंडेका गंगा जमुना प्रचारका क्रममा पार्टीको गीतमा नृत्य पनि उस्तै गर्छन् ।
एमाले नेता ढकाल पितृशोकमा कोरामा रहेकाले घरदैलोमा अरु नेता कार्यकर्तासँग गंगा जमुना हुन्छन् । उनीहरु ढकालको प्रचारका लागि आफ्नो व्यवसाय छोडेर हिंडेका छन् ।
बुधबार विराटनगर–५ मा घरदैलोमा नाच्दै हिंडेको भेटिएका उनीहरुले निर्वाचनसम्मका लागि कामलाई थाती राखेर ढकाल जिताउने अभियानमा निस्किएको बताए ।
गंगा र जमुना दुवै पेशाले ब्युटिसियन हुन् । जामुनगाछी क्षेत्रमा सञ्चालनमा रहेको गंगा ब्यूटी पार्लरमा दैनिक दर्जनौं ग्राहक पुग्ने गर्छन् ।
सौन्दर्य सेवामार्फत महिलासँग नजिकबाट घुलमिल हुने अवसर मिलेको छ, जसले समाजका विभिन्न पक्ष बुभ्mन सहयोग पुर्याएको उनीहरु बताउँछन् ।
ब्यूटी पार्लर केवल व्यवसाय होइन, महिलाहरुका अनुभव, समस्या र आकांक्षा सुन्ने थलो पनि हो, गंगाले भनिन् । यही अनुभवले समाज र राजनीतिप्रति चासो बढाएको उनीहरुको भनाई छ ।
परिवारभित्र पनि धेरै पटक रमाइला घटना भएका छन् । उनीहरुका श्रीमान् र छोराछोरीसमेत कतिपय अवस्थामा झुक्किने गरेको दिदीबहिनी हाँस्दै सुनाउँछन् ।
जमुनासँग मेरा श्रीमान झुक्किंदा खासै फरक परेन तर मसँग ज्वाइँ झुक्किंदा धेरै अप्ठयारो हुन्छ, गंगाले भनिन् ।
चिन्न गाह्रो पर्छ भनेर जानाजानी एउटै खाले लुगा लगाउने बानी परेका उनीहरुले घरपनि नजिकै बनाएका छन् ।
उनीहरुको सम्बन्ध केवल दिदीबहिनीको मात्र नभएर साथी र सहयात्रीको जस्तो छ । आधा घण्टाको फरकमा जन्मिएका उनीहरु एकले अर्कालाई सम्बोधन गर्दा नाताले हैन नामले बोलाउँछन् ।
उनीहरुको सभ्य नृत्य प्रस्तुति चुनावी अभियानको मुख्य आकर्षण बनेको छ । चुनावी गीतको तालमा उस्तै चाल, उस्तै हाउभाउ र उस्तै मुस्कानले गंगा र जमुनालाई छुट्याउन सकिंदैन ।
सो क्षेत्रमा चुनावी सरगर्मी बढ्दै जाँदा गंगा–जमुनाको सक्रियताले अभियानमा नयाँ रंग थपेको छ । सामाजिक सञ्जालमा समेत उनीहरुको भिडियोहरु भाइरल भइरहेका छन् ।
छ दिदी बहिनी र तीन दाजुमध्येका सबैभन्दा साना उनीहरु जुम्ल्याहा भएकाले नाम गंगा जमुना राखियो । यही नामले पढे, बढे, शिक्षा हासिल गरे र अहिले व्यवसाय पनि गरिरहेका छन् ।
एमाले नेता विनोद ढकाल शोकमा रहेकाले उनी मतदातासम्म मत माग्न जान नसकेकाले आपूmहरु अभियानमा लागेको उनीहरुको भनाई छ ।
View : 445
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved