Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

अनिलको विगतदेखिकै विवादस्पद पृष्ठभूमि

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

विराटनगर । मोरङ रंगेली–२ बबियाबिर्ता मंगलबारे घर भएका ४५ वर्षीय अनिल पोखरेल ठगीका मास्टरमाइन्ड नै भएको मानिन्छ । अनिलको विगत विवादस्पद हुँदाहुँदै पनि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उनलाई स्वकीय सचिव नियुक्त गरेका थिए । 

अनिलले आफन्त नातागोता कसैलाई पनि झुक्याउन, ठगी गर्न बाँकी नराखेको उनलाई नजिकबाट चिनेकाले बताएका छन् । अनिलले २०७७ सालमै मोरङकी डा. शिवमाया तुम्वाहाम्फे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुँदा एक जना आफन्तलाई नै ठगी गरेका थिए । 

नातामा काका पर्ने मालपोत कार्यालयबाट सेवा–निवृत्त आफ्नै गाउँका एक जना पूर्वकर्मचारीलाई गुठी संस्थानको जीएम बनाइदिन्छु भनेर पैसा लिएका थिए । 

तर, लिएको पैसा सम्बन्धित मन्त्री तथा उनको सचिवालयलाई नदिई अनिलले आफैले मासेपछि लेनदेनको कारोबारलाई जग्गा खरिद बिक्रीमा रुपान्तरण गरी कपाली तमसुक बनाउने तहमा पुगेको स्रोतले बतायो । 

स्रोतका अनुसार अहिले सोही विषयको मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ । अनिलले विभिन्न व्यक्तिलाई ठगी गरेको चार करोडभन्दा बढीको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बताइन्छ ।

पछिल्लो समय अनिलले आफू पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र लेखा समितिका सभापति ऋषिकेश पोखरेलको मान्छे हुँ भन्दै आफ्नो ठगीधन्दालाई जारी राखेका थिए । 

‘उनको कामै भनेको सिंहदरबार हाजिर गरेर आफ्नो पहुँच कर्मचारी प्रशासनसँग रहेको देखाउनु थियो’ स्रोतले भन्यो, ‘लेखा समितिको सभापतिकै पीए भएपछि त उनलाई झन् खुँदो पल्टिएको थियो ।’ 

माथिल्लो तहमा आफ्नो राजनीति पहुँच स्थापित गर्न सफल पोखरेलकी श्रीमती पनि सरकारी कर्मचारी हुन् । उनकी श्रीमती राष्ट्रिय सहकारी विकास बोर्डमा सहायक स्तर(सुब्बा सरह) को कर्मचारी छिन् ।

View : 291

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved