विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार विराटनगर आयोजना गरेको भेलामा कोशी प्रदेशका कोही पनि जिल्ला सभापति सहभागी नहुँदा नेताहरू त्यति धेरै चिढिएका थिएनन्, जति प्रदेशसभाका सदस्यहरू नआउँदा उनीहरू बिच्किए ।
आफू निकट भनिएका सांसदहरू नै अनुपस्थित भएपछि कृष्णप्रसाद सिटौलाले गम्भीर आरोप लगाउँदै भने ‘सबैलाई लोभ छ, लोभले डर उत्पन्न हुन्छ । डराएको कांग्रेसले देश थाम्न सक्दैन ।’
सिटौला मात्रै होइन, कोशी प्रदेशसभाका आफू निकट सांसदहरू नआउँदा डा. शेखर कोइराला पनि बिच्किएका थिए । उनले चाहिँ पार्टीं संस्थापनले भेलामा आउन रोकेको आरोप लगाए ।
यी दुई शीर्ष नेता त भइगए, सांसदहरूको अनुपस्थितिले सबैभन्दा धेरै खल्लो चाहिं प्रदेशका महामन्त्री भूपेन्द्र राई र पूर्व मुख्यमन्त्री केदार कार्कीलाई भएको थियो ।
विराटनगरमा पहिलोपटक देउवा र कोइराला पक्षले एकै साथ कार्यक्रम गर्दा पनि सोही पक्षका भनिएका प्रदेशका सांसदहरू अनुपस्थित भइदिंदा प्रदेश संसदीय दलको नेता फेर्ने कसरतमा रहेको संस्थापन इतर पक्षको अन्तिम आशामा पनि तुषारापात भएको छ ।
‘आइतबारको भेलामा जसरी पनि बहुमत प्रदेशसभा सांसद उपस्थित गराउने र प्रदेश संसदीय दलको नेता फेर्ने प्रक्रिया आरम्भ गर्ने तयारी थियो,’ संस्थापनइतर पक्षका एक नेताले भने ‘तर, तयारी अनुसारको उपस्थिति भएन । यसले दलको नेता फेर्ने च्याप्टर अहिलेलाई क्लोज भएको छ ।’
हुन पनि आइतबार बिहानैदेखि शेखर कोइराला, सशांक कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मासहितका नेताहरू प्रदेश सांसदहरूलाई उपस्थित हुन फकाउन व्यस्त थिए । भेलामा बोल्ने क्रममा विजय गच्छदारले यसको संकेत पनि गरे ।
‘शेखर दाइसँगकै सल्लाहमा म साथीहरूलाई यहाँ सहभागी गराउन सक्रिय भएको थिएँ, त्यही भएर आउन ढिला भयो,’ गच्छदारले भने ‘म ढिलो हुँदा विजय नआउने हो कि भन्ने शेखर दाइलाई परेछ । म साथीहरूलाई बोलाउन लागेको थिएँ ।’
संस्थापनइतर पक्षका नेताहरू भूपेन्द्र राई, केदार कार्की, भीम पराजुलीहरूको आंकलन थियो, पूर्व सभापति शेरबहादुर देउवा, नेताहरू शेखर कोइराला र कृष्णप्रसाद सिटौला एकै ठाउँ उभिएपछि प्रदेशका बहुमत सांसदहरू पनि त्यतै उभिनेछन् । यद्यपि प्रदेश सांसदहरूले पार्टी लाइनभन्दा बाहिर नजाने अडान देखाउँदै इतर पक्षले भनेजसो गरिदिन अस्वीकार गरेका छन् ।
‘भेलामा उपस्थित भइदिनु भनेर धेरै नेताहरूले फोन गर्नुभयो, निर्देशन दिनुभयो,’ शेखर कोइराला निकट मानिने एक सांसदले भने ‘तर, पार्टी लाइनभन्दा बाहिर गएर हामी उपस्थित हुन चाहेनौं ।’
पुराना नेताहरूको असक्षमताले अहिलेको अवस्था आएको बताउँदै उनले नयाँ नेतृत्वलाई सहयोग गरेर अघि बढ्ने सोच बनाइसकेको उल्लेख गरे ।
आइतबारको भेलामा भूपेन्द्र राई, केदार कार्की, भीम पराजुलीबाहेक इलामकी समानुपातिक सांसद खगेश्वरी पौडेल, झापाका भूमि राजवंशी र उदयपुरका रामकुमार खत्री मात्रै उपस्थित थिए ।
२९ सदस्यीय संसदीय दलका जम्मा ६ जना मात्रै सांसद उपस्थित हुँदा पहिले केदार कार्कीले विद्रोह गर्दा साथ दिएका शेखर पक्षका सांसदहरू नै अनुपस्थित रहे ।
त्यसबेला कार्कीलाई साथ दिएका इलामका शमशेर राई, गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, सुनसरीकी सुनिता गुरूङ, उदयपुरकी लीलादेवी राईले भेलामा उपस्थित हुन इन्कार गरेका छन् ।
त्यसबेला कार्कीको पक्षमा हस्ताक्षर गरेका अहिले प्रदेशका मन्त्री रहेका मोरङका मानबहादुर लिम्बूले पनि भेलामा उपस्थित हुन अस्वीकार गर्दा शेखर निकट गयानन्द मण्डल पनि आएनन् ।
शेखर पक्षका बहुमत सांसदले संस्थापन पक्षमा उभिएको सन्देश दिंदा सिटौला पक्षका भूपेन्द्र राई र भीम पराजुली मात्रै भेलामा गएका थिए । यसरी संस्थापन इतर भेलामा बहुमत सांसद भेला गरेर दलको नेता फर्ने तयारीमा रहेको सो पक्षको योजना विफल भएको नेताहरू बताउँछन् ।
‘भेलामा १५ जना सांसद उपस्थित गराएर देखाउने इतर पक्षको तयारी थियो,’ कांग्रेस कोशी संसदीय दलका एक पदाधिकारीले भने ‘तर, उनीहरूको योजना फेल भयो । तत्काल त्यसको कुनै सम्भावना नै छैन ।’
अहिले कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा छन् । पार्टी प्रदेशको सभापतिसमेत रहेका थापा लामो समयदेखि सिटौला पक्षका खम्बा मानिन्थे ।
तर, कांग्रेसको विशेष महाधिवेशन पछि भने थापाले सिटौलाको साथ छाडेका छन् । उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पक्षमा आफूलाई उभ्याएका छन् ।
पार्टी सभापति थापा र उपसभापति शर्मा थापालाई मुख्यमन्त्री बनाउने लाइनमा प्रष्ट उभिएका छन् । उनलाई मुख्यमन्त्री बनाउन भनेरै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग थापा र शर्माले थापालाई कांग्रेसबाट मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
ओलीले भने कोशीमा एमालेबाट नै अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउने भनिरहेका छन् । अहिले केही समययता यो छलफलमा ‘ब्रेक’ लागेको छ ।
थापाले मुख्यमन्त्री बन्ने अवसर पाउने सम्भावना बढेपछि उनलाई नेताबाट हटाउन सिटौलाले आफ्ना विश्वासपात्र भूपेन्द्र राईलाई यो जिम्मा दिएको र कोइराला पक्षका कार्कीले साथ दिएको कांग्रेस नेताहरू बताउँछन् ।
View : 161
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved