सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्टिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १८ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ । पुस १९ देखि २५ गतेसम्म सुनसरीको इटहरी र भोक्राहा नरसिंहमा भएको कोशी प्रदेश छनोट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा टिम छनोट गरिएको कोशी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
सुरेश गुरागाईंको संयोजकत्वमा मनोजकुमार मण्डल र सोमेसकुमार शाह सदस्य रहेको समितिले छनोट गरेको चार बैकल्पिक सहित १८ सदस्यीय टिममा झापाबाट सर्वाधिक ७ जना खेलाडी परेका छन् ।
बुधबार साँझ घोषणा गरिएको टिममा झापाबाट कप्तान सुवेदी सहित सुजन थपलिया, समीर कार्की, कमल खत्री, सौजन घिमिरे, अभ्यास तिमल्सिना र बैकल्पिक खेलाडी भुपाल दंगाल छन् । मोरङबाट तीन जना मात्र छनोट भएका छन् । जसमा विकेट किपर मिनस थापा, उपकप्तान फिर्दोस अन्सारी र बैकल्पिक खेलाडी सौगात भट्टराई रहेका छन् ।
सुनसरीबाट सोनु मण्डल, भुपाल लुईंटेल र सुमन गहतराज छनोट भएका छन् । उदयपुरबाट सोनु अन्सारी, आइस भट्टराई र बैकल्पिक खेलाडी दिपकराज जोशी छनौट भएका छन् । इलामबाट हेमन राई र बैकल्पिक खेलाडी आश्विन कामत रहेका छन् ।
कोशी टिमको प्रशिक्षक पुष्प थापाले सम्हाल्ने छन् भने ब्यवस्थापकमा सुरेश गुरागाईं र एनालिष्टमा बिनित बास्तोला रहेको कोशी प्रादेशिक क्रिकेट संघका सचिव टिकाराम पुरीले जनाएका छन् । छनोट भएका खेलाडीहरूले पुस २८ गतेदेखि काठमाडौं र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट सहभागिता जनाउने छन् ।
View : 138
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved