Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

फलोअप

भिनाजुद्वारा सालीको हत्या : अस्मिता रक्षाका लागि लड्दा गयो ज्यान

प्रहरीका अनुसार अभियुक्त हरिनगरस्थित ससुराली गाउँमा पनि चोरी लगायतका घटनामा संलग्न रहेका कारण बद्नाम थिए ।
उद्‌घोष संवाददाता
३१ असार २०८२, मङ्गलवार

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–६ मा सोमबार बिहानको राति  एक जना किशोरीको गोली हानी हत्या भएको छ । १७ वर्षीया अर्सी खातुनलाई उनकै भिनाजुले गोली प्रहार गरी हत्या गरेका हुन् ।

उनलाई भिनाजुले जबरजस्ती गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि गोली हानिएको शंका सुनसरी प्रहरीले गरेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौं । तथ्य खुल्ला । हाम्रो प्रारम्भिक अनुमान यही छ ।’

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने महरम चोकमा सोमबार बिहान भिनाजुले गोली प्रहार गर्दा साली अर्सीको घटनास्थलमै ज्यान गएको हो । 

बिहान करिब २ः३० बजेतिर भएको घटनामा हरिनगर–६ निवासी गफार मियाँकी छोरी खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । 

उनका अनुसार अर्सीलाई उनका जेठा  भिनाजु भारत पूर्णियाँ जिल्ला पत्रहा पञ्चायत वडा–१६ घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँले गोली प्रहार गरेका थिए । घटनालगत्तै गोली प्रहार गर्ने अजाद फरार भएको प्रहरी भनाइ छ ।

‘हत्यारा भिनाजु भारतीय प्रहरीको खोजी सूचीमा रहेको व्यक्ति भन्ने थाहा भएको छ’ सुनसरीका प्रहरी प्रवक्ता खतिवडाले भने ‘भारतमा चोरी लगायतका घटनामा संलग्न रहेर पटक–पटक पक्राउ पर्दै छुट्दै गरेको आपराधिक पृष्ठभूमिको मान्छे रहेछ । भारतीय प्रहरीसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ ।’ 

प्रहरीका अनुसार अभियुक्त हरिनगरस्थित ससुराली गाउँमा पनि चोरी लगायतका घटनामा संलग्न रहेका कारण बद्नाम थिए । 

‘स्थानीयबासीले दिउँसो भेटे भने आफै समातेर प्रहरीलाई बुझाउने अवस्थाको व्यक्ति रहेछ’ डिएसपी खतिवडाले भने ‘त्यसैले राति ससुराली घर आएको उसले आफ्नी साइँली सालीलाई गोली प्रहार गरेर हत्या गरेको देखिएको छ ।’ बिहान साढे तीन बजेपछि मात्रै प्रहरीलाई घटनाबारे जानकारी आएको उनले बताए । 

प्रहरी चौकी घुस्की हाटबाट करिब दुई किलोमिटर पूर्व–दक्षिणमा घटना भएको हो । आइतबार राति मृतक किशोरीका बुबाआमा, माइली दिदी र मृतक किशोरी मात्रै घरमा थिए । रातिनै घरमा आएका परिवारका जेठा ज्वाइँले सालीको हत्या किन गरे भन्ने विषय नखुलेको प्रहरीको भनाइ छ ।

मृतकका बुबाआमाका ६ छोरी र दुई छोरा छन् । ठूली छोरीका पति अभियुक्तका दुई सन्तानसमेत छन् । मृतककी ठूली दिदी भारत घरमै रहेका बेला ज्वाइँ ससुराली आएका थिए । 

प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा लाग्ने एउटा नपड्केको गोली समेत फेला परेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

View : 613

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved