विराटनगर । चीनबाट आयात गरिने विद्युतीय सिगरेट (ई–सिग्रेट) भारत तस्करी हुने गरेको पाइएको छ । सीमा शुल्क विभाग पटनाले हालै रक्सौलबाट ४ करोड ८० लाख (भारू तीन करोड) को ई–सिगरेट जफत गरेपछि तस्करीको भेद खुलेको हो ।
गत आइतबार भारतको एकीकृत जाँच चौकी एवं सीमा शुल्क निवारण केन्द्रले सो मूल्य बराबरको ई–सिगरेट रक्सौलको रेलवे स्टेशनबाट जफत गरेको हो ।
सीमा शुल्क विभाग पटनाका आयुक्त डा यशोवर्धन पाठकको निर्देशनमा सीमा नाकाहरूमा कडाइ गरी ई–सिगरेट जफत गर्न थालेको हो ।
रक्सौलबाट दिल्ली जाने रेलबाट सिगरेट बरामद गरिएको थियो । जफत गरिएको सिगरेटको परिमाण ६ हजार ५ सय ९८ थान छ ।
नजिकिदै गएको अंग्रेजी नयाँ वर्षको पार्टीहरूमा ई–सिगरेटको माग बढी हुने भएकाले अहिले ठूलो परिमाणमा चिनिया ई–सिगरेट नेपालबाट भारत गैरहेको बताइएको छ ।
सो जानकारीका आधारमा सीमा शुल्क विभागले नेपाल–भारत सीमा नाकामा कडाइ गरेर जाँच गर्न थालेको हो । युवाहरूमा केही समययता ई–सिगरेट सेवनको लत बढ्दै गैरहेको छ ।
विहारमा मदिरा बन्द गरेपछि त्यहाँका युवाहरूमा लागुपदार्थको कुलत बढ्दै गएकाले ई–सिगरेट, खैरो हेरोइन, फेन्सिडिल जस्ता लागुपदार्थको खपत बढ्दै गैरहेको बताइएको छ ।
View : 37
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved