आइतबार आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गर्दै पत्रकार दाहाल । तस्वीर: उद्घोष
विराटनगर । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले विराटनगरका पत्रकार मनोज दाहाललाई उत्कृष्ट राससकर्मी पुरस्कार प्रदान गरेको छ । राससको ६३ औं स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको हो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले नगद २० हजार सहित सम्मानपत्र प्रदान गरेकी हुन् । उनले राससले जिम्मेवार पत्रकारिता गर्दै आएको बताइन् । आगामी दिनमा पत्रकारिताले समाजमा पारेको प्रभाव पनि नागरिक तहमा पुर्याउनु पर्नेमा मन्त्री गुरुङले जोड दिइन् ।
‘राससले जनताको हितलाई ध्यान दिएर आफ्नो काम गरोस्, समुदाय अनुसारको भाषामा पनि समाचारहरू प्रकाशन गरोस्’ उनले भनिन् । मन्त्री गुरुङले पत्रकारलाई सरकारले शान्तिसुरक्षा प्रदान गर्ने विश्वास दिलाइन् ।
रासस कोशी प्रदेश कार्यालयका प्रमुख मो. सदरुलले राससले २०१८ सालदेखि समाचारका लागि सेवारत भूमिका निर्वाह गर्दै आएको बताए । उनले रासस केन्द्रीय कार्यालयले देशभरका राससकर्मी मध्ये तीनजनामा कोशी प्रदेशबाट दाहाललाई पुरस्कृत गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुँइटेल, महासंघ मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्य, पत्रकारहरूका पेशागत संघ सङ्गठनका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।
View : 259
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved