Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

समितिले काम नथाल्दै मन्त्रालयद्वारा अम्बे कोशीलाई समस्याग्रस्त सहकारी घोषणा

उद्‌घोष सम्वाददाता
२४ पुष २०८१, बुधवार

विराटनगर । कोशी प्रदेश सरकार आफैले गठन गरेको संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले काम नथाल्दै मंगलबार सुनसरीको एउटा सहकारीलाई संकटग्रस्त सहकारी घोषणा गरेको छ ।

प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सिफारिस अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगरका वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । उक्त समितिका संयोजक थापासहित सदस्यहरूमा धनप्रसाद शिवाकोटी र जीवन काफ्ले सदस्य रहेका छन् । उनीहरूलाई मन्त्रालयले मंगलबारसम्म नियुक्ति समेत दिएको छैन । साथै कार्यालय पनि स्थापना नभएको जनाइएको छ ।

संकटग्रस्त सहकारीको व्यवस्थापन गर्ने सरकारी संयन्त्रलाई काम गर्ने वातावरण नै तयार नगरी सरकारले मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिकास्थित अम्बे कोशी बचत तथा ऋण सहकारीलाई हतारमा संकटग्रस्त सहकारीका रुपमा घोषणा गरेको हो ।

समितिका संयोजक भरत बहादुर थापाले सरकारले आफ्नो संयोजकत्वमा समिति बनाएको जानकारी पाएपनि कुन सहकारीलाई संकटग्रस्त घोषणा गरिएको हो भन्ने कुरा आफूले थाहा नपाएको बताए । उनले मंगलबारसम्म पनि समितिका कसैले नियुक्ति नपाएको र कार्यालय पनि स्थापना नभएका कारण जवाफ दिनै कठिन भएको प्रतिक्रिया दिए ।

‘मलाई त केही थाहा छैन, सरकारले हामीलाई बोलाएको पनि छैन, अफिस खडा पनि भएको छैन’ संयोजक थापाले भने, ‘क्षेत्राधिकार नै तोकिएको छैन, नियुक्तिपत्र पनि पाएको छैन ।’

यता, मन्त्रालयले भने समितिले काम थाल्ने वातावरण नै तयार नभई मंगलबार अम्बे कोशीलाई संकटग्रस्त घोषणा गरिएको जनाएको छ ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले अम्बे कोशीलाई संकटग्रस्त सहकारी घोषणा गरिएको जानकारी दिए । उनले प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा (२) मा सरकारले समस्याग्रस्त सहकारीलाई संकटग्रस्त घोषणा गर्ने अधिकार भएको र त्यसरी संकटग्रस्त घोषित सहकारीको व्यवस्थापन सरकारले भर्खरै गठन गरेको समितिले गर्ने बताए ।

अम्बे कोशीका सञ्चालकहरूले बचतकर्ताहरूको करिब ६१ करोड रुपैयाँ बढी अपचलन गरेको आरोप छ । बचत अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्षसहित फणिन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परिसकेका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकहरूका विरुद्धमा ठगी मुद्दा दायर गरेको छ । सोही मुद्दाका आधार उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उक्त सहकारीमा १० हजार बढी सेवाग्राही रहेको र सहकारीमा ३ सय सेयर सदस्य छन् ।

सो सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी तीन स्थानमा सेवा केन्द्रसमेत सञ्चालन गरेको थियो ।

View : 49

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved