Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीप विश्वासकाे कुलत विरुद्धको सांगीतिक अभियान
उद्‌घोष संवाददाता
१४ वैशाख २०८३, सोमवार

विराटनगर । समाजमा बढ्दै गएको मद्यपानको भयावह अवस्था र मानिसहरू बिस्तारै कसरी रक्सीको घातक लतमा फस्छन् भन्ने यथार्थपरक कथावस्तुमा आधारित नयाँ सांगीतिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक भएको छ।

सोमबार सुनसरीको झुम्कास्थित म्याजिक सिनेमा हलमा आयोजित एक भव्य समारोहका बीच उक्त भिडियोको औपचारिक विमोचन गरियो।

स्वर्गीय गायक राम धामीको स्मृतिमा सम्मान व्यक्त गर्दै आयोजना गरिएको सो कार्यक्रममा थारू चलचित्रका प्रथम नायक परशुराम चौधरी र चर्चित हास्य गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री) ले संयुक्त रूपमा भिडियो सार्वजनिक गरेका हुन् ।

 

प्रवलदीप विश्वासको शब्द, संगीत र स्वर रहेको यस गीतमा गायिका नितु चौधरीले स्वरमा साथ दिएकी छन् । गीतको श्रव्य पक्षलाई स्तरीय बनाउन सञ्जय हमालले संगीत संयोजन, हारुन रसिदले ध्वनि रेकर्डिङ र बिजेन श्रेष्ठले ध्वनि मिश्रण (मिक्सिङ) गरेका हुन् ।

दृश्यतर्फ रबिन चौधरीको छायाङ्कन र अवधनारायण राजवंशीको श्रृङ्गार रहेको सो भिडियोलाई कार्तिक राजवंशीले निर्देशन गर्नुभएको हो।

निर्देशक राजवंशीले नै भिडियोको दृश्य सम्पादन र रङ संयोजनको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका हुन् ।

 

थारू कला क्षेत्रका स्थापित तथा उदाउँदा कलाकारहरूको ठूलो समूहले यस भिडियोमा अभिनय गरेको छ।

जसमा सनम चौधरी, राजेश राजवंशी, पाण्डव चौधरी, सरोज चौधरी, बिक्की राजवंशी, मनकुमार राजवंशी, प्रितम राजवंशी, रामकृष्ण तबदार, रमेन चौधरी, महेन्द्र चौधरी, ईश्वर माझी, जीवन मुर्मू, अनुराग माझी, निरज राजवंशी र सुरज राजवंशीको जीवन्त अभिनय देख्न सकिन्छ।

मनोरञ्जनका साथै सामाजिक चेतना फैलाउने उद्देश्यले निर्माण गरिएको यस भिडियोले विशेषगरी युवा पुस्तालाई कुलतबाट टाढा रहन प्रेरित गर्ने विश्वास गायक प्रवलदीपले व्यक्त गरेका छन् ।


View : 323

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved