विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजमा बुधबारदेखि संयुक्त राष्ट्रसंघ महासभाको अभ्यास आरम्भ हुँदैछ । प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघीय महासभाको नाममा विद्यार्थीहरूले तीन दिवसीय अभ्यास गर्न लागेका हुन् ।
विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकासको उद्देश्यका साथ सुरू हुने नमुना महासभा २३ गतेसम्म सञ्चालन हुने आयोजक कमिटीका संयोजक विद्यार्र्थी इशल भट्टराईले बुधबार विहान कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्ने छन् ।
नमुना महासभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिनेछन् ।
उनीहरूलाई विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरिनेछ, जसमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय प्रेस छन् ।
ती समितिहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड–१९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्वका विषयमा छलफल गरिने छ ।
नेपाल र भारतका मध्यस्थकर्ताहरूले सहजीकरण गर्ने उक्त छलफलमा हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहनेछन् ।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने विश्वास व्यक्त गर्दै संयोजक भट्टराईले अन्तर्राष्ट्रिय नीति, कूटनीति र सम्बन्ध बुझ्न समेत सघाउ पुग्ने बताए । यस्तै समालोचनात्मक चेतको विकास गर्दै सहकार्यको भावना जागृत हुने तथा विश्वस्तरीय जनशक्तिसँग सहकार्य, समन्वय र प्रतिष्पर्धी बन्ने क्षमताको विकास गराउने भट्टराईको भनाई थियो ।
विद्यालयका प्राचार्य टीकाराम पुरी संरक्षक रहेको यस कार्यक्रमलाई ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गर्नेछ ।
View : 275
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved