विराटनगर, । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघको केन्द्रीय समितिको नयाँ नेतृत्वका लागि तानातान सुरु भएको छ। निर्वाचन समितिले शनिबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै चुनावी सरगर्मी बढेको हो। नयाँ नेतृत्वका लागि आगामी बिहीबार मतदान हुने कार्यक्रम तय भएको छ।
सभापतिमा चार प्रतिस्पर्धी, दलीय समीकरण रोचक
संघको केन्द्रीय सभापति पदका लागि चार जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन समितिका अनुसार नवीन लामिछाने, डा निरजकुमार मिश्र, नरेशकुमार साह र भूपेन्द्र बाह्रकोटीले सभापतिमा उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरूमध्ये लामिछाने माओवादी निकट र मिश्र प्रगतिशील प्राध्यापक संगठन निकट मानिन्छन् । यस्तै, नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघबाट दुई जनाको उम्मेदवारी परेको छ। जसमा साहलाई विश्वविद्यालयको वर्तमान संस्थापन पक्षको समर्थन रहेको चर्चा छ भने बाह्रकोटी संस्थापन इतर समूहबाट चुनावी मैदानउत्रिएका छन्। बाह्रकोटी यसअघि संघको महासचिव रही सकेका व्यक्ति हुन् ।
समितिको उपसभापतिमा शंकरप्रसाद दाहाल, दृष्टि बस्नेत र जीवन थापा प्रतिस्पर्धामा छन् । महासचिवमा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनका दुर्गाप्रसाद (दिपेश) बाँस्तोला र प्रजातन्त्रवादी समूहका प्रसन्न दाहालबीच सिधा प्रतिस्पर्धा हुनेछ।
सचिवमा पुकार चौधरी र दीक्षा पौडेल चुनावी मैदानमा छन्। कोषाध्यक्षमा प्रमिला सिंह र अविनाशकुमार मण्डल बीच प्रतिष्पर्धा हुनेछ।
अस्मिता श्रेष्ठसहित प्रतिनिधिहरू निर्विरोध
महिला सदस्य पदमा अस्मिता श्रेष्ठको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी छन् । यस्तै, विभिन्न आङ्गिक क्याम्पसहरूबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ७ जना सदस्यहरू पनि निर्विरोध भएका छन्। जसमा जगरनाथ साह (पुसोइ), मदनबहादुर थापा (जीपीकार पुसेफ), राकेश ठाकुर (पूस्याट), सुशील रेग्मी (पुस्हास), राकेशकुमार अधिकारी (शिक्षण अस्पताल) , प्रदीप केसी (पुसोम) र मनोजकुमार मेहता जनता क्याम्पसबाट छन् ।
१४० मतदाता, नियुक्ति र पहुँचको लडाइँ
कुल १४० जना सदस्य रहेको पूवि प्राध्यापक संघमा चुनावी जोडघटाउ तीव्र बनेको छ। निर्वाचन सम्पन्न गर्न मनोजकुमार हलवाईको संयोजकत्वमा कृष्ण दाहाल र दीपककुमार खतिवडा सदस्य रहेको निर्वाचन समिति सक्रिय छ।
यद्यपि, संघको यो चुनावलाई लिएर केही प्राध्यापकहरूले भने प्रश्न उठाएका छन्। संघको केन्द्रीय समितिमा जाने पदाधिकारीहरूको उद्देश्य प्राज्ञिक उन्नयन भन्दा पनि विश्वविद्यालयका विभिन्न पदमा आफ्ना निकटका व्यक्ति नियुक्त गर्ने र पछि आफैँ पदाधिकारी बन्ने दाउपेचमा केन्द्रित हुने गरेको आरोप इतर पक्षले लगाउँदै आएको छ।
View : 597
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved