सुनसरी । कोशी प्रदेशका दुई उपमहानगर इटहरी र धरानमा शुक्रबारेदखि बजेट शून्यता आएको छ ।
नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२–८३ को लागि विनियोजित बजेट पारित हुन नसक्दा ती दुई उपमहानगरपालिकामा बजेट शून्यताको अवस्था सिर्जना भएको हो ।
धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको मतभेदले आर्थिक बर्ष २०८२–८३ को बजेट पारित हुन नसक्दा उपमहानगर बजेट शून्यताको अवस्थामा पुगेको हो ।
अघिल्लो बर्ष पनि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरुबीचको बिवादले निर्धारित समयमा बजेट पेस गर्न नसकेको धरान उपमहानगर यस वर्ष पनि किचलोमा फँसेको छ ।
नगरप्रमुख र उपप्रमुख सहितका वडाअध्यक्षहरुको टकराव र आन्तरिक विवादका कारण पूर्वी नेपालको महत्वपूर्ण स्थानीय तह धरानमा बजेट प्रक्रिया ठप्प हुँदा नगरबासी चिन्तित बनेका छन् ।
धरानमा समयमै बजेट आउन नसक्नुको एउटा कारण श्रमदानको विषयमा उत्पन्न बिवाद हो ।
असार २ र ३ गते श्रमदानको विषयलाई लिएर नगरप्रमुख र उपप्रमुखबीच उत्पन्न बिवादले झडपको अवस्था नै सिर्जना भएको थियो ।
बजेट बनाउने अन्तिम समयसम्म उक्त विवाद नसुल्झिदा यसको प्रभाव बजेट निर्माण प्रक्रियामा परेको हो ।
उपप्रमुख वेघासहित २८ जना कार्यपालिका सदस्यले कानुनी प्रक्रिया र आवश्यक तयारी पूरा नगरी कार्यपालिका बैठक बस्नुको औचित्य नहुने भन्दै पत्र बुझाएपछि नगरप्रमुख साम्पाङले बैठक स्थगित गरेका थिए ।
बैठक बस्न नसक्दा धरानले असार १० गते बजेट प्रस्तुत गर्न सकेको थिएन । त्यसयता पटक पटक प्रयास गरेपनि बजेट निर्माणको कामले पूर्णता नपाउँदा शून्यताको अवस्थामा पुगेको हो ।
इटहरी उपमहानगरपालिका पनि बजेट शून्यताको अवस्थामा पुगेको छ ।
असार १० गते उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख संगीताकुमारी चौधरीले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट पारित नहुँदा बजेट होलिडेको अवस्थामा पुगेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनमा १० असारमा प्रस्तुत भएको नीति, कार्यक्रम र बजेट १५ दिन अर्थात असार २५ गतेसम्म दफावार छलफल गरी पारित गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
तर, बजेट पास गर्ने विषयमा पटक पटक नगरसभा बोलाउँदै स्थगित गरेको उपमहानगरले बुधबार बोलाइएको नगरसभाको बैठक पनि स्थगित भएकाले इटहरी बजेट होलिडेको अवस्थामा पुगेको हो ।
इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले अनुसूची विनाको बजेट पास गर्न खोजेपछि उपप्रमुख चौधरीले असहमति जनाएपछि बुधबारको नगरसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
उपप्रमुख चौधरीले अनुसूची विनाको बजेट निर्णयका लागि नगरसभामा पेश गर्न नसकिने जानकारी दिएपछि नगरसभा प्रमुखका रुपमा उपस्थित मेयर पौडेलले इटहरीवासीको भाग्य र भविष्यमाथि राजनिति गर्न नहुने जनाउँदै सहमति नभएसम्मका लागि नगरसभा स्थगित गरेका थिए ।
View : 474
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved