सुन चोरी गरेर बिक्री गर्ने सचिन जानकर र चोरीको सुन किनबेच हुँदै गरेको दृष्य । तस्वीर : उद्घोष
विराटनगर । चोरीको सुन किनबेच भएपछि भएको विवाद मिलापत्रमा टुङ्ग्याइएको पाइएको छ । मोरङको रंगेलीस्थित प्रहरी कार्यालयमा भएको मिलापत्रमा चोरीको सुनको किनबेच गोप्य राखी मिलापत्रमा टुङ्ग्याइएको हो ।
केही दिनअघि रंगेली बजारका श्याम अग्रवालको घरबाट सुन चोरी गरेर एक भारतीय नागरिकले अर्का भारतीय नागरिकलाई बिक्री गरेका थिए ।
अग्रवालको सुनको कारोबार नभए पनि उनको घरमा लामो समयदेखि सुन गलाउने काम गर्दै आएका भारत महाराष्ट्रका सचिन जानकरले धनपालथान–४ कर्सियामा सुनकै गहना बनाउने राजु बंगालीलाई ७५ ग्राम सुन बिक्री गरेका थिए ।
६ तोला भन्दा बढी सुन बिक्री गरेका सचिनले राजुलाई सुनको बिल भोलिपल्ट ल्याउने बताएका थिए । स्रोतका अनुसार, सुनको बिल ल्याइदिने जिम्मा रंगेलीको सन्ध्या ज्वेलर्सका सञ्चालक दिपेन सोनारले लिएका थिए ।
७ लाख ६ हजार ७ सय ५० रुपैयाँमा खरिद गरेको सुनको बिल नपाएपछि राजुले अग्रवाललाई सुन चोरीको हुन सक्ने जानकारी गराएका थिए ।
स्थानीयवासीका अनुसार, रंगेलीआसपासका सर्वसाधारणको सुन धितो राखेर मासिक ३ प्रतिशत (वार्षिक ३६ प्रतिशत) ब्याजमा ऋण लगानी गर्दै आएका अग्रवालको घरबाट सुन चोरिएको हुन सक्ने बताउँदै राजुले सुन किनबेच भएको भिडियो देखाएका थिए ।
चोरीको पोल खुल्ने डरले सचिनले राजुलाई कुटपिट गरेपछि घटना प्रहरीसम्म पुगेको थियो ।
राजुलाई सुन फिर्ता लिएर रकम दिनुपर्ने वा बिल दिनुपर्ने माग गर्दै अग्रवालको घरमा स्थानीय युवाहरू गएपछि घटनाले उग्ररुप लिएको थियो ।
अग्रवालले सचिनलाई भारत पठाउने आश्वासन दिएकाले राजुले उनीविरुद्ध प्रहरीमा उजुरी नदिएको स्थानीय बिपुल पोद्दारले बताए ।
अग्रवालले आश्वासन दिएअनुसार त्यसो नगरेर उल्टै राजुविरुद्ध धाकधम्कीको जाहेरी दिएका थिए ।
दशैँको घटस्थापनाको अघिल्लो दिन अग्रवालले राजुलगायत ५ जनाबाट आफूहरू असुरक्षित भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।
सचिन लगायतको समूह राजुको खोजी गर्दै उनको परिवारका सदस्यलाई धम्की दिन राति कर्सिया पुगेका थिए ।
दशैँपछि कार्यालय खुल्ने बित्तिकै राजुकी श्रीमतीले चोरीको सुन बिक्री गर्ने सचिनविरुद्ध धनपालथान गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिइन् ।
दुबै पक्षलाई शुक्रबार इलाका प्रहरी कार्यालयमा झिकाएर छलफल गराइएको थियो । प्रहरी निरीक्षक सन्तोष खड्काले शान्ति सुरक्षाको माग गरिएकाले त्यस विषयमा मात्रै छलफल भएर मिलापत्र भएको बताए ।
प्रशासनमा निवेदन दिने अग्रवालले विपक्षीलाई सुन बारे चर्चा नगर्ने सर्तमा मिलापत्र गर्ने बताएका थिए ।
‘सुनको कुरा निकाल्दा घरबाटै अबैध बैंकिङ कारोबार हुने गरेको पोल खुल्ने डर थियो’ पोद्दारले भने ।
उनका अनुसार सहमतिपछि चोरीको सुन खरिद गर्ने बंगालीले अग्रवाललाई दुई लाख रुपैयाँ तिरेका छन् । सो रकम रंगेलीका वेदमणि घिमिरे मार्फत पठाइएको पोद्दारले बताए ।
मेलमिलापमा सुनको विषय नखुलाई हस्ताक्षर गरेका श्याम अग्रवालले यस बारे केही पनि बताउन चाहेनन् । दुई दिनअघि मात्रै विवादमा परेर केही घण्टा इप्रका रंगेलीको हिरासतमा बसेका सचिनबाट रंगेलीवासी आजित भएको स्थानीय रोशन साह बताउँछन् ।
गुड्डु सोनारको निवेदनपछि बुधबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । राति होटलमा मदिरा सेवन गरेर एक जना प्रहरी हवल्दारको मुखमा बियर कुल्ला गरेर सचिनले थुकेको घटनापछि पनि उनी पक्राउ परेका थिए ।
सचिनले दुई वर्षअघि बिपुल पोद्दारको घरमा गएर तोडफोड गरेका कारण पक्राउ परेका थिए । सचिन सुनका पोख्त कालिगढ भएको बुझिएको छ । समाचार स्रोतका अनुसार श्याम अग्रवालको घरमा जमानी राखेका सुनमा सचिन मिसावटको काम गर्छन् ।
२०७० सालमा पनि श्याम अग्रवालका भतिजा अजयकी श्रीमतीले अंश माग गरेपछि दुई बाकस चाँदी मध्यरातमा घरबाट अन्यत्र लैजाने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
बुहारीबाट लुकाउन दुई मन भन्दा बढी चाँदी अर्को घरमा लैजाने क्रममा पक्राउ परेपछि धेरै जना स्थानीयवासीले ऋण लिँदा धरौटी राखेको खुलेको थियो ।
View : 229
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved