Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङलाई कोशी एलाइट कपको उपाधि

उद्‌घोष संवाददाता
१८ माघ २०८२, आइतवार

विराटनगर । प्रथम कोशी प्रदेश इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले ट्रफी उचालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो । 

मोरङका कृतिक कामतले ३४ रन बनाउँदा प्रतीक पोखरेलले २६, शाकिव हकले २४, कप्तान दिपेश कँडेलले १९, प्रेम कामतले अविजित १३ र आइस्टाइन रिजालले १० रनको योगदान गरे । 

झापाका आयुस न्योपानेले ३ विकेट लिंदा कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र बिपिन महतोले २–२ विकेट लिएका थिए ।

१७५ रनको लक्ष्य पाएको झापा निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४७ रनमा समेटियो । 

झापाका आशिक राना मगरले ४३ रन जोड्दा फैजल रहमानले २२, आयुस न्योपानेले ११, दिपु भुलेल र भुपाल दंगालले १०–१० रन बनाए । 

मोरङका फिर्दोस अन्सरीले ३ विकेट लिंदा कप्तान दिपेश कँडेल र प्रेम कामतले समान २–२ विकेट लिएका थिए ।

फाइनल खेलको प्लेयर अफ दि फाइनल मोरङका कप्तान दिपेश कँडेल घोषित भए । उत्कृष्ट ब्याटर मोरङका कृतिक कामत घोषित भए । उत्कृष्ट बलर मोरङकै प्रेम कामत बने । त्यस्तै प्लेयर अफ द सिरिज पनि मोरङकै कप्तान कँडेल भए ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मो. साद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलिवोन ज्वाला क्रिकेट मैदानमा पहिलो पटक सेतो जर्सी र रातो बलमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

View : 449

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved