एमाले महाधिवेशन प्रतिनिधि चयन
विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मोरङमा प्रतिनिधि चयनको प्रक्रिया निर्वाचनमै गएर टुंगिने निश्चित भएपछि संस्थापन ओली पक्षले प्यानलको रुपमा भोट मागेका छन् ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ओली पक्षका नेता कार्यकर्ताहरूले प्यानलका रुपमा भोट मागेका हुन् । उनीहरूले सामाजिक सञ्जालमै आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिका उम्मेदवारको फोटोसहितको नामावली राखेर भोट मागेका हुन् ।
महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार ६ वटै क्षेत्रमा एकैपटक मतदानको प्रक्रिया अघि बढ्ने जनाइएको छ । एउटा पक्षको पक्षपोषण गर्दै पार्टीको विभिन्न कमिटीमा रहेका नेताहरूले नै समूहका रुपमा भोट माग्न थालेपछि इतर पक्षका उम्मेदवारहरूले भने असन्तुष्टि पोखेका छन् ।
बुढीगंगा गाउँपालिकाको इञ्चार्जसमेत रहेकी सन्तोषी श्रेष्ठले एक पक्षीय रुपमा तयार पारिएको क्षेत्र नम्बर ६ को महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूको नाम र फोन नम्बर उल्लेखित विवरण सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।
महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेकी अनेमसंघ केन्द्रीय सदस्य बिमला दाहाल घिमिरेले पनि ओली प्यानल खुल्नेगरी तयार पारिएको क्षेत्र नम्बर ४ को प्रचार सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो अंकित प्रचार सामग्री पोष्ट गरेकी घिमिरे एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेकी पत्नी हुन् ।
महिलातर्फबाट महाधिवेशन प्रतिनिधिको आकांक्षी रहेकी घिमिरेले प्यानलैसहितको प्रचार सामग्री सामाजिक सञ्जालमा राखेकी हुन् । श्रेष्ठ र घिमिरे मोरङमा अहिले ओली पक्षमा खुलिसकेका नेताहरू हुन् ।
यसअघि एमाले मोरङको जिल्ला अधिवेशनमा सचिवमा पराजित भएका रविन थापाले क्षेत्र नम्बर ३ मा ओली पक्षका महाधिवेशन प्रतिनिधिको मात्रै नाम उल्लेख भएको प्रचार सामग्री फेसबुकमा पोष्ट गरेका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेर बिहीबार फिर्ता लिएका थापाले यसअघि ओली पक्षबाट चुनाव लडेर मोरङ जिल्ला कमिटीको अध्यक्षमा पराजित राजकुमार ओझा लगायतको नाम उल्लेखित प्रचार सामग्री फेसबुकमा पोष्ट गरेका छन् ।
मोरङमा ओली पक्षको इतरमा जिल्ला र महानगर कमिटी निर्वाचित भएका कारण उक्त निर्वाचित कमिटीले नै जिल्लामा आफू संस्थापन भएको दाबी गर्ने गरेको छ ।
महाधिवेशनका लागि मोरङबाट ४६ जना प्रतिनिधि चयन हुँदैछन् । तर, एमालेभित्र निर्वाचनबाटै केन्द्रीय नेतृत्व चयन हुने निश्चित भएका कारण गुटगत रुपमै महाविधेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको हो ।
क्षेत्र नम्बर ५ मा खुलातर्फ भने लगभग सहमति हुने अवस्था बनेको नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले बताए । बाँकी सवै क्षेत्रमा चुनावको सम्भावना रहेको उनले जानकारी दिए । उनले समूहगत रुपमा मत माग्ने क्रम देखिएकोले आफूहरू पार्टी बचाउने अभियानमा लागेको बताए ।
‘हामी मोरङमा संस्थापन हौं, उहाँहरुले प्रतिपक्ष भनेर भोट माग्नु भएको होला, हामीले इँटको जवाफ पत्थरले दिनुपर्छ किनभने हामी पार्टी जोगाउने पक्षमा छौं’ थापाले भने, ‘हामी बीचमा केही सहमति पनि छन्, केही असहमति पनि छन् तर अहिले सिंगो जिल्ला नेतृत्व हाम्रोभन्दा राम्रा मान्छेलाई प्रतिनिधिमा ल्याउने कुरामा प्रयासरत छौं ।’
उनले अहिले पार्टी निर्माणको समय भएको बताए । एमालेलाई एकतावद्ध बनाउन अखण्डित एकता आवश्यक हुने थापाको जिकिर छ ।
‘केपी ओली, विद्या भण्डारी, ईश्वर पोखरेल सहितको पार्टी निर्माण गर्नुपर्छ भन्ने विश्वासमा अघि बढेका छौं’ थापाले भने, ‘महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पनि दवाव दिन्छौं, दुवैतिर देखिएका नेताहरुलाई एक ठाउ“मा ल्याउन प्रयास गर्छौैं ।’
एमालेको मंसिर २७ देखि २९ सम्म तोकिएको ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट चुनिने प्रतिनिधि संख्याको तुलनामा तीन गुणा बढी उम्मेदवारी परेको थियो ।
२१ जना खुला, १५ जना महिला, सात जना युवा र तीन जना दलित गरी जम्मा ४६ जना प्रतिनिधिका लागि १४५ जनाले उम्मेदवारी दर्ता गरेकोमा बिहीबार थोरैले मात्रै मनोनयन फिर्ता लिएको जनाइएको छ ।
View : 448
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved