विराटनगर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले सेवानिवृत्त १४ जना कर्मचारीलाई सम्मान गरेको छ । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा भएको वनभोज कार्यक्रमको अवसरमा कर्मचारीहरु सम्मानित भएका हुन् ।
कर्मचारीहरु राजु अधिकारी, गणेशबहादुर कार्की, रुद्र फुयाँल, लेखहरि भट्टराई, उमा तिवारी, डेगप्रसाद दाहाल, कपिल पौडेल, विनोद उपाध्याय, विनोद श्रेष्ठ, रवि खनाल, शम्भु भण्डारी, केदार अधिकारी, गेहराज पोखरेल र हेम खतिवडालाई सम्मान गरिएको संगठनका मोरङ अध्यक्ष ओम सुवेदीले बताए ।
सम्मानितहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव जीवन काफ्ले, प्रतिनिधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, एमाले नेता विनोद ढकाल लगायतले खादा र सम्मानपत्रले सम्मानित गरेका हुन् ।
संगठनका महासचिव काफ्लेले संगठनको संरक्षणमा रहेको राष्ट्रसेवक सहकारीहरुले देशभरमा ३ अर्बभन्दा बढी कारोबार गरिरहेको जानकारी दिए । संगठन होस् या सहकारी सबैको भूमिकामा अग्रणी भएर मोरङ जिल्लाले काम गरेको उनले बताए । नेपाल निजामति संगठनले कर्मचारीको हकहितमा काम गरिरहेको बताए ।
सार्वजनिक लेखा समितिका सभापति पोखरेलले मुलुकलाई राजनीतिक स्थिरतातर्फ केन्द्रीत गराउन जिम्मेवार नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले देशमा आर्थिक सुशासन कमजोर रहेको अवस्थामा सुशासनको प्रत्याभूति दिलाउने मामिलामा कर्मचारीको भूमिका जिम्मेवारपूर्ण हुने पनि बताए ।
‘जो जहाँ छौं, जुन भूमिकामा छौं, कानुनतः जवाफदेही भएर काम गर्न सक्यौं भने सुशासन कायम गर्नसक्छौं,’ उनले भने ।
संगठनले लामो समयसम्म निजामती सेवाको क्षेत्रमा योगदान दिएर सेवानिवृत्त भएका कर्मचारीहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको जनाइएको छ । आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै जाने संगठनका मोरङका सचिव शालिग्राम कोइरालाले बताए ।
वनभोज कार्यक्रममा सम्मानसँगै अतिरिक्त खेलकुदका क्रियाकलाप पनि आयोजना गरिएको जनाइएको छ ।
View : 267
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved