विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार, नेपाली युवाको सुरक्षा र रोजगारीका अवसरलगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तामा उपमेयर शिल्पा निराला कार्की र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल समेत सहभागी थिए ।
वार्ताको केन्द्रमा हाल हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि भइरहेको प्रयास, सूचना प्रविधि तथा कृषि क्षेत्रमार्फत नेपाली युवालाई इजरायलमा रोजगारीका अवसर दिलाउने विषयमा छलफल भएको जनाइएको छ ।
राजदूत बासले विराटनगर महानगर र इजरायलको प्रमुख सहर ‘वीर शिभा’बीच भगिनी सम्बन्ध स्थापना गर्न पहल भइरहेको जानकारी दिंदै यस प्रक्रियामा आफू गम्भीर रूपमा लागिपरेको बताए ।
उनका अनुसार, भगिनी सम्बन्ध स्थापनाले दुई शहरबीच सांस्कृतिक, शैक्षिक र प्रविधिक अनुभव आदानप्रदानलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
सो अवसरमा मेयर कोइरालाले इजरायल–इरान युद्धका बेला इजरायली सरकारमार्फत नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीमा देखाइएको सक्रियताको प्रशंसा गर्दै राजदूतमार्फत इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
राजदूत बासले विपिन जोशीलगायत हमासको नियन्त्रणमा रहेका नेपालीको रिहाइका लागि इजरायली सरकार उच्च प्राथमिकताका साथ क्रियाशील रहेको जानकारी दिएका थिए ।
उनका अनुसार यस विषयमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय मानवीय संयन्त्रहरू सक्रिय गरिएका छन् ।
View : 438
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved