विराटनगर । रोटर्याक्ट क्लब विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि विद्यातीय गाडी (ईभी) को सचेतनामूलक र्याली निकालेको छ ।
शनिबार विराटनगरस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले र्यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टिकर टाँसेर र्यालीको शुभारम्भ गरिन् ।
र्यालीमा विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष कुशल साहले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले ऊर्जाको प्रचुर सम्भावना भएको मुलुक नेपालमा ईभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो ।
वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन ईभी गाडीको र्याली निकालिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए ।
मारवाडी सेवा सदनबाट सुरू भएको र्याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छाचोक हुँदै विराटनगर महानगरपालिका कार्यालयमा पुगेर समापन भएको थियो ।
View : 117
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved