Biratnagar, Morang, Nepal
३० असोज २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

उद्घोष सम्वाददाता
३० असोज २०८१, बुधवार

Advertisement

म्याग्दी, ३० असोज । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ ।  

सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । 

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 

सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् ।

घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताए ।  

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४  रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए ।

दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । रासस

View : 27

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved