Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार : मुख्यमन्त्री

उद्‌घोष सम्वाददाता
२३ भदौ २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । निर्माण व्यवसायी संघ मोरङको शनिबार आयोजित २७ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति नियम, कानून, कर्मचारीतन्त्र र कार्यसम्पादनमा भएका त्रुटिहरू सच्याएर  निर्माण कार्यलाई ब्यवस्थित बनाउन सरकार तयार रहेको बताए । 

मुख्यमन्त्री कार्कीले सबै पक्षले आफ्नो कमजोरी सच्याएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले प्रदेश सरकार पनि व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । 

‘नयाँ सरकार बनेपछि आएको मौद्रिक नीतिले निर्माण व्यवसायीहरूमा आशा जगाएको मैले पाएको छु’ उनले भने, ‘निर्माण व्यवसायी र कानूनी अप्ठेराका कारण अझै पनि विकास निर्माणको काम द्रुत गति र गुणस्तरीय हुन सकिरहेको छैन, यसले सरकारप्रति पनि वितृष्णा बढाउने काम गरेको छ ।’

मुख्यमन्त्री कार्कीले सार्वजनिक खरिद ऐनमा भएका त्रुटिमा आफ्नो ध्यान गएको र यसलाई सच्याउन संघीय सरकारलाई समेत दबाव दिने प्रतिवद्धता जनाए । 

प्रदेश सरकारले गर्न सक्ने जति काम भने यही दशैं अघिनै सक्ने उनले बताए । प्रदेश सरकारले लगाएका ठेक्काहरूको भुक्तानी नरोक्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे । प्रदेशले बनाएका कानुनमा केही त्रुटि भए त्यो आगामी हिउँदे अधिवेशनबाट समाधान गर्ने पनि उनले बताए । 

न्यून दरमा ठेक्का लिएकै कारण गुणस्तरीय काम नहुने र समयमै सम्पन्न नहुने गरेको भन्दै यसमा निर्माण व्यवसायीहरू समेत गम्भीर हुन आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए । 

गुणस्तरीय काम नहुँदा र ढिलासुस्तीका कारण समग्र मुलुककै विकास रोकिने भन्दै व्यवसायीहरूको ध्यानाकर्षण गराए । 

‘प्रधानमन्त्रीज्यूले समेत यसलाई गम्भीर रूपमा लिनुभएको छ, प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापतिज्युले पनि समस्या समाधान गर्न तत्त्परता देखाइरहनु भएको छ, उहाँहरूलाई राखेर समस्याको हल गर्न म तयार छु’ कार्कीले भने, ‘कतिपय समस्याहरू भने निर्माण व्यवसायीकै कारण पनि उत्पन्न भएका छन्, त्यसमा तपाईहरू पनि गम्भीर हुनुपर्छ ।’

कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव रवि सिंहले सार्वजनिक खरिद ऐन, कर्मचारीतन्त्र र सरकार, भुक्तानीमा ढिलाई लगायतका समस्याले निर्माण व्यवसायी मारमा पर्दै आएको बताए ।

निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रको अध्यक्षतामा आयोजित साधारण सभाका अवसरमा निर्माण व्यवसायीहरूलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved