विराटनगर । मेचे समुदाय नेपालको अल्पसंख्यक समुदाय मानिन्छ । झापामा मात्रै बसोबास गर्ने यो समुदायकै युवा सदस्य रोशनी मेचे राष्ट्रियसभामा निर्वाचित भएकी छन् ।
झापा धाइजनकी रोशनी २०७९ मै एउटा राजनीतिक जिम्मेवारीसहित सिंहदरबार प्रवेश गरेकी थिइन् ।
त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टिम सदस्यका रुपमा सिंहदरबार पुगेकी उनले यसपटक भने निर्वाचित प्रतिनिधिको हैसियतमा सिंहदरबार प्रवेश पाएकी छन् ।
पूर्वी नेपालको झापामा मात्रै बसोबास गर्ने अल्पसंख्यक मेचे समुदायकी ४३ वर्र्षीया रोशनी राष्ट्रियसभा सदस्य बनेर संघीय संसद्को माथिल्लो सदन प्रवेश गरेकी हुन् ।
उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी हन् । उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो ।
झापाको धाइजन क्षेत्रकी एक पढेलेखेको युवाको पहिचान बनाएकी व्यक्ति पनि हुन् रोशनी । पढाइ, पत्रकारिता, पार्टी जिम्मेवारी र प्रधानमन्त्री सचिवालयको अनुभव हुँदै तय भएको रोशनीको यात्रा अब संसदीय तहमा उक्लेको छ ।
धाइजनको बलभद्र जनता माविबाट स्कुले शिक्षा पूरा गरेकी उनले कोहेड कलेजबाट ११–१२ अनि कनकाई कलेजबाट स्नातक तह पूरा गरेकी हुन् ।
त्यसपछि इलामबाट समाजशास्त्रमा स्नातकोत्तर र काठमाडौंबाट एलएलबी पूरा गरेकी उनको शैक्षिक पृष्ठभूमिले पहिचान र राज्य संरचनाकाको माथिल्लो तहसँग नजिक ल्याएको थियो ।
त्यो रुचि पछि उनको काम र जिम्मेवारीमा पनि देखियो । राजनीतिमा आउनुअघि उनी गोरखापत्र संस्थानसँग आबद्ध थिइन् । अहिले पनि उनी गोरखापत्रमै कार्यरत छन् ।
‘म अहिले पनि गोरखापत्रमै छु’ राष्ट्रियसभाको मतगणना सकिंदै गर्दा उनले भनिन् ‘नयाँ नेपाल पेजमा मेचे भाषाको समाचार संयोजन गर्ने काम मैले गर्दै आएकी छु ।’ मेचे समुदायको आफ्नै भाषा छ—मेचे भाषा ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा मेचे समुदायको जनसंख्या ५ हजार १९३ छ र उनीहरूको ऐतिहासिक बसोबास क्षेत्र झापा नै हो । प्रधानमन्त्रीको सचिवालयमा हुँदा पनि गोरखापत्रको पृष्ठ संयोजनको जिम्मेवारी निर्वाह गरेकी उनी अब ‘माननीय’ भएपछि के गर्छिन् ?
‘नेपालका हरेक भाषा हाम्रो सम्पदा हुन् । भाषा निरन्तर प्रयोगमा रहनु आवश्यक हुन्छ’ उनले भनिन् ‘प्रयोगमा नरहने हो भने भाषा हराउँदै जान्छ । विविधता जोगिनु नै समाजका लागि महत्वपूर्ण कुरा हो । यदि विकल्प कोही नभेटिए मैले त्यो काम पूरा गर्नुपर्छ भन्ने लाग्छ ।’
रोशनीको राजनीतिक सक्रियता धेरै लामो भने होइन । उनी लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य हुन् । यो उनको दोस्रो कार्यकाल हो ।
२०७९ माघ १५ गतेदेखि उनी तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा आबद्ध भइन् । सचिवालयको अनुभवले उनलाई नीति निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर दिएको बताउँछिन् । त्यही अनुभव अब राष्ट्रियसभामा प्रयोग गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।
‘राष्ट्रियसभा नीति निर्माणको तह हो’ उनले थपिन् ‘प्रदेश र स्थानीय तहका अनुभवलाई केन्द्रसम्म ल्याएर कार्यान्वयन हुनसक्ने नीति बनाउनेतर्फ मेरो ध्यान रहनेछ ।’
उनको प्राथमिकतामा अल्पसंख्यक समुदायका सवाल, शिक्षा र रोजगारी छन् । आफू पनि महिला, अल्पसंख्यक समुदायकी प्रतिनिधि र युवा पुस्ताकै उमेर समूहमा पर्ने भएकाले यी पक्षलाई जोडेर काम गर्न सकिने उनी बताउँछिन् । ‘अग्रजहरूको अनुभव र नयाँ पुस्ताको आवाज जोडेर काम गर्न सकिन्छ’ उनी भन्छिन्, ‘त्यही सेतुको भूमिका निर्वाह गर्ने प्रयास गर्छु ।’
गोरखापत्रको पेजमा मेचे भाषाको संयोजन गर्दै आएकी रोशनी अब ती समुदायका सवाललाई राष्ट्रियसभामा नीति र छलफलको तहसम्म पुर्याउने भूमिकामा पुगेकी छन् । यसले खुसी र जिम्मेवारी एकैसाथ दिएको उनको प्रतिक्रिया छ ।
‘खुसी छु । अनि एउटा ठूलो जिम्मेवारी बोकें भन्ने पनि लागेको छ’ उनले भनिन् ‘इमान्दारीपूर्वक यो भूमिका निर्वाहमा लाग्नेछु ।’
View : 196
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved