विराटनगर । भारतीय दूतावासमार्फत नेपालमा आफूखुसी शिक्षा, स्वास्थ्य र मन्दिर आदि संरचना निर्माणमा लगानी हुने गरेको र अहिले लगानीको दायरा २० करोड पुर्याउन वर्तमान सरकारले सहमति गरेको भन्दै विराटनगरका विद्वत् वर्गले विरोध जनाएका छन् । सामाजिक अभियन्ता एवं वामपन्थी विचार राख्ने १७ जना बुद्धिजीवीले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भारतले नेपालमा सिधै खर्च गर्ने रकमको सीमा बढाएको प्रति असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले भारतले विसं २०५९ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाकै पालामा दूतावासमार्फत नेपाल सरकारको स्वीकृति नलिई आफूखुशी नेपालको जुनसुकै ठाउँमा स्कूल, अस्पताल, मन्दिरजस्ता संरचना निर्माण गर्दै आएको दाबी गरेका छन् ।
‘यो काम भारत सरकारले बिस.२०५९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलादेखि प्रारम्भ गरेको हो । त्यसबेला ३ करोड सम्मका परियोजना भारतीय दूतावासलाई सोझै गर्न दिइएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा ३ करोडबाट बढाएर ५ करोडसम्मको काम सोझै गर्न दिइएको थियो, अहिलेको नेपाल सरकारले भारत सरकारका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा उक्त रकमको सीमा बढाएर २० करोड पुर्याउने सम्झौता गरको छ ।’
उनीहरुले विदेशी राष्ट्रले सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालमाथि हस्तक्षेप हुने गरी आफूखुसी काम गर्ने कुरा अत्यन्तै लज्जास्पद भएको उल्लेख गरेका छन् । जसका कारण अनावश्यक र अवान्छित राजनैतिक प्रभाव र हस्तक्षेपलाई प्रवेश गराएको जनाइएको छ ।
‘यसले नेपाल राष्ट्रको स्वाभिमान र स्वतन्त्र अस्तित्वमाथि ठाडो हस्तक्षेप गरेको छ,’ उनीहरुले भनेका छन्, ‘हामी सरकारको यस्तो गलत कार्यको विरोध गर्दै गलत कार्य सच्याएर अगाडि बढ्न सरकारलाई आग्रह गर्दछाैं ।’
विज्ञप्ति जारी गर्नेहरुमा पूर्व सांसद एवम् राजदूत कमलप्रसाद कोइराला, सामाजिक अभियन्ता प्रा. कृष्ण पोखरेल, केशवप्रसाद गौतम, शिवबहादुर कार्की, देवीबहादुर घिमिरे, बाम बुद्धिजीवी प्राध्यापक डा. खगेन्द्र आचार्य, वाम बुद्धिजीवी प्रध्यापक डा.मिनराज ढकाल, प्राध्यापक डा. रमेश दाहाल, प्राध्यापक डा.सनत वराल, वरिष्ठ अभिवक्ता रमेश कोइराला, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा, सामाजिक अभियन्ता दामोदर घिमिरे छन् ।
त्यसैगरी सामाजिक अभियन्ता विष्णु द्विवेदी, चुडामणि पौडेल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मीकुमार मास्के र प्रगतिशील साहित्यकर्मी हीरा रिजाल छन् ।
View : 110
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved