Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एस्पायर कलेजले बीएचआई पढाउने

उद्‌घोष संवाददाता
१४ पुष २०८२, सोमवार

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजले ब्याचलर इन हेल्थ इन्फोम्र्याटिक्स (बीएचआई) कार्यक्रम सुरू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि कलेजले बीएचआई अध्यापन सुरू गर्ने भएको हो । 

कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेलबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । कलेजले बीएचआई अध्यापनका लागि आवश्यक सवै तयारी पूरा गरेको जनाइएको छ । 

हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रमस्वास्थ्य सेवा र सूचना प्रविधिको संयोजनका रूपमा विकसित भएको कोर्स हो । यसबाट स्वास्थ्य डाटा व्यवस्थापन, अस्पताल सूचना प्रणाली, ई–हेल्थ, टेलिमेडिसिन, मेडिकल कोडिङ तथा हेल्थ रिसर्चजस्ता विषय समेटिएको जनाइएको छ । 

डिजिटल स्वास्थ्य प्रणालीको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लक्ष्यसहित शैक्षिक कार्यक्रम सुरू गरिएको कलेजका अध्यक्ष विकास अधिकारीले बताए ।

उनले हेल्थ इन्फोर्म्याटिक्स वर्तमान र भविष्य दुवैका लागि अत्यन्तै सम्भावनायुक्त विषय भएको उल्लेख गरे । 

‘स्वास्थ्य क्षेत्र तीव्र रूपमा डिजिटल बन्दै गएको छ, काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा दिन सकिनेछ’ अधिकारीले भने,‘आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई व्यवहारिक र सीपमुखी शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य पनि राखेका छौं ।’

कलेजले काठमाडौं विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यसले विद्यार्थीलाई स्वदेश तथा विदेशका अस्पताल, स्वास्थ्य संस्था, अनुसन्धान संस्था तथा स्वास्थ्यसँग सम्बन्धित सूचना प्रविधि क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने जनाइएको छ । 

एस्पायर कलेजमा हाल बीआईटी, बीपीएच र बीटेक एड आईटी कार्यक्रम सञ्चालन गरिंदै आएको जनाइएको छ ।

View : 113

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved