Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

चाडवाड केन्द्रित नौ दिने ‘विराट ट्रेड फेयर’ असोज २२ देखि

मेलामा एउटै स्थानमा विभिन्न ब्रान्ड, उत्पादन, वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री हुने भएकाले उपभोक्ताले समय बचतसँगै छुट तथा सहुलियत मूल्यमा आवश्यक सामग्री खरिद गर्ने अवसर पाउनेछन् ।
उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा ‘विराट ट्रेड फेयर–२०८३’ आयोजनाको तयारी तीब्र पारिएको छ । विराट व्यापार संघको आयोजनामा आउँदो असोज २२ गतेदेखि ३० गतेसम्म (नौ दिन) विराटनगर–७ स्थित जैन भवनमा ट्रेड फेयर आयोजना हुन लागेको हो ।

औद्योगिक तथा व्यापारिक नगरीका रूपमा परिचित विराटनगरलाई आर्थिक तथा औद्योगिक गतिविधिको थप प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ संघले ट्रेड फेयर आयोजना गर्न लागिएको विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए ।

ट्रेड फेयरमा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, हार्डवेयर, ट्रेडिङ, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामग्री, अटोमोबाइल, फर्निचर, फर्निसिङ सामग्री, घरायसी सामग्री, कृषि तथा कृषि उत्पादन, बैंक तथा वित्तीय सेवा, सूचना प्रविधि र हस्तकलालगायत विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री गरिने जनाइएको छ ।

दसैं–तिहारलगायतका प्रमुख चाडपर्वको ठीकअघि ट्रेड फेयर हुन लागेकोले यसलाई उपभोक्ताको उल्लेख्य सहभागिता रहने संघका अध्यक्ष अग्रवालले बताए । 

ट्रेड फेयरलाई जोगवनीको साटो विराटनगरमै चाडपर्व लक्षित किनमेलको प्रमुख गन्तव्य बनाउने उद्देश्य राखेर तयारी अघि बढाइरहेको उनले बताए । 

चाडपर्वका बेला हुने किनमेलको अधिकतम् खर्चको हिस्सा स्वदेशी बजारमै परिचालन गर्न सके स्थानीय व्यवसायी र अर्थतन्त्र दुवैलाई प्रत्यक्ष लाभ पुग्ने अध्यक्ष अग्रवालले बताए ।

मेलामा एउटै स्थानमा विभिन्न ब्रान्ड, उत्पादन, वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री हुने भएकाले उपभोक्ताले समय बचतसँगै छुट तथा सहुलियत मूल्यमा आवश्यक सामग्री खरिद गर्ने अवसर पाउनेछन् । 

हरेक वस्तु तथा सेवा खरिदमा छुट पाउने बजारका रुपमा ट्रेड फेयरलाई चिनाउने प्रयास भइरहेको ट्रेड फेयरका संयोजक भवेश पौडेलले बताए । 

उनले विराटनगर तथा आसपासका उपभोक्तालाई सीमापारि जोगबनी तथा भारतका अन्य बजारसम्म किनमेलका लागि जानुपर्ने अवस्थालाई न्यून गर्दै आफ्नै शहरमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको बताए ।

व्यापारिक गतिविधिसँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, फुड कोर्ट, किड्स जोनलगायत आकर्षण केन्द्र राखिने जनाइएको छ । 

नेपाली कलासंस्कृतिमा आधारित विशेष सेल्फी जोन तथा आकर्षक प्रवेशद्वार निर्माण गरिने उनले बताए । ट्रेड फेयरको अवधिभर करिब एक लाख दर्शक आउने अपेक्षा गरिएको जनाइएको छ । 

विराट व्यापार संघ नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध सक्रिय व्यापारिक संस्था हो । संघले स्थापनाकालदेखि नै व्यापारीको हकहित तथा अधिकार संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण र निजी क्षेत्रको सशक्तीकरणका लागि काम गर्दै आएको जनाएको छ । हाल संघमा करिब ४ हजार ५ सय व्यवसायी सदस्य आबद्ध रहेका छन् ।

साना व्यवसायीदेखि ठूला उद्योगी–व्यवसायीसम्मलाई एउटै छातामुनि समेट्दै आएको संघले व्यापारिक एकता, सहकार्य तथा व्यवसायीका समस्या समाधानका लागि विभिन्न पहल गर्दै आएको अध्यक्ष अग्रवालले बताए । 

संघले यसअघि पनि उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेको इतिहास छ । तत्कालीन अध्यक्ष यादव पोखरेलको कार्यकालमा २०६७ सालमा पहिलो विराट महोत्सव आयोजना गरिएको थियो । ११ दिनसम्म चलेको उक्त महोत्सवमा नेपाल, भारत र पाकिस्तानका गरी ७८ वटा स्टल राखिएको थियो भने करिब ५५ हजार दर्शकले अवलोकन गरेको संघले जनाएको छ ।

सोही महोत्सवको निरन्तरता स्वरुप संघले नेतृत्व लिएर विराट ट्रेड फेयर आयोजनाको तयारी अघि बढाएको जनाइएको छ । यस वर्षको मेलामा नेपालसँगै भारत र बंगलादेशका करिब एक सय वटा स्टल रहने अध्यक्ष अग्रवालले जानकारी दिए ।

‘चाडपर्वको किनमेल आफ्नै शहरमा, व्यापार आफ्नै बजारमा’ भन्ने भावनालाई प्रवद्र्धन गर्दै विराटनगरलाई चाडपर्वको किनमेलका लागि प्रमुख ‘सपिङ डेस्टिनेसन’ बनाउने लक्ष्य राखिएको बताए ।

ट्रेड फेयर सफल बनाउन संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, मोरङ चेम्बर अफ कमर्सलगायत विभिन्न व्यवसायिक संघ–संस्था तथा सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरिएको जनाइएको छ । 

विराटनगरको व्यापारिक इतिहास लामो रहेको र विराटनगर जुट मिल्स, रघुपति जुट मिल्सलगायत ठूला तथा साना उद्योगको स्थापनाले यस क्षेत्रको औद्योगिक तथा व्यापारिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । 

यही पृष्ठभूमिमा निजी क्षेत्रलाई थप चलायमान बनाउँदै स्थानीय बजारको प्रवद्र्धन गर्ने उद्देश्यले संघले ट्रेड फेयर आयोजना गर्न लागेको जनाएको छ ।

View : 29

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved