विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले ‘कचनकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
विराटनगरमा हालै सम्पन्न प्रदेश समितिको पूर्ण बैठकले तराईदेखि हिमालसम्मका मतदाता र जनतासँग भेट गर्ने, अन्तरक्रिया गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको सभापति उद्धव थापाले जानकारी दिएका छन् ।
‘नेपालकै होचो स्थान झापाको कचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्मको अभियानले पार्टीलाई प्रदेशमा नयाँ उत्साह दिने अपेक्षा गरेर कार्यक्रम बनेको हो’, सभापति थापाले भने ‘यही अभियान र केन्द्रीय समितिद्वारा सञ्चालित १०० दिने अभियानलाई सहयोग गर्नका लागि कोशी प्रदेशका ५६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय पनि भएको छ ।’
जागरण अभियानको अवधारणा पत्र तयार पार्न र प्रतिनिधिहरूका लागि कार्यविधि तयार गर्न पार्टीका कोशी प्रदेश प्रवक्ता यदुकुमार विष्टको संयोजकत्वमा समिति बनेको छ ।
सदस्यहरूमा उत्तमबहादुर चौंलागाई, बाबुराम कोइराला(वासु), रन्जिता कार्की र सदस्य सचिवमा नारायण कोइराला छन् ।
कांग्रेस कोशीले आउँदो मंसिर २२ मा ‘प्रथम प्रदेश सम्मेलन’ आयोजना गर्ने भएको छ ।
केन्द्रीय सभापति शेरवहादुर देउवाको प्रमुख आतिथ्यमा विराटनगरमा गर्ने सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्रीद्वय भुपेन्द्र राई र उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई बैठकले जिम्मेवारी दिएको छ ।
मंसिर १६ को स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन निर्वाचन परिचालनका लागि निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा कांग्रेसबाट सरकारमा मन्त्री भएकाहरूले अहिलेसम्म सरकारले गरेको कामबारे ब्रिफिङ गरेका थिए ।
View : 203
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved